काठमाडौं । सत्तारुढ घटक माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।
आइतबार सुरु भएको बैठकको पहिलो दिन ३७३ केन्द्रीय सदस्यको टुंगो लगाइएको छ ।
जसमा पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् ।
माओवादीमा पदाधिकारीको भने अझै टुंगो लाग्न सकेको छैन । नेताहरुले पाँच दिन लगाएर भएपनि पदाधिकारी टुंग्याउनु पर्ने भन्दै बैठकमा नेतृत्वमाथि दबाब दिएका छन् ।
बैठकमा हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेन्डा प्रस्तुत गरेका छन् ।
तीव्र गतिमा आर्थिक विकास, समृद्धि, सामाजिक न्यायमा आधारित नयाँ नेपालको खाका तयार पार्न आवश्यक रहेको ठहर गरेको छ । पार्टीले विज्ञ, विशेषज्ञसँग छलफल गरेर आगामी निर्वाचनको प्रतिबद्धतापत्र तयार पार्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।
सम्पूर्ण केन्द्रीय सदस्यलाई ठोस कार्यविभाजनसहित निर्वाचन क्षेत्रमा पठाउने, सङ्घ र प्रदेशमा जनसहभागितामा चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने, निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, निर्वाचन क्षेत्रका आधारित सङ्गठन परिचालन, स्थितीको आंकलन र जन अपेक्षामा आधारित निर्वाचनमा विजयी हासिल गर्ने रणनीति बनाउने अध्यक्ष दाहालको प्रतिवेदनमा समावेश छ ।
यस्तै, पार्टीको सहायक सङ्गठन वाइसिएल, महिला सङ्गठनलगायतका जनवर्गीय सङ्गठनको भेला आयोजना गर्ने, स्पष्ट कार्ययोजनाका साथ उनीहरूलाई परिचालन गर्ने विषय पनि समावेश गरिएको प्रतिवेदनमा संविधानको रक्षा, प्रतिगमनको विरोध गर्ने समूह र शक्तिसँग सहकार्य गर्ने विषय समावेश गरिएको छ ।
अध्यक्ष दाहालले गठबन्धनमा माओवादी सबैभन्दा बढी इमान्दार देखिएको समेत प्रतिवेदनमा उल्लेख गरेका छन् । पार्टीको साङ्गठनिक अवस्थाको बारेमा अन्य दलसँग तुलना गर्दै उनले ग्रामीण क्षेत्रमा माओवादीप्रति जनताको आकर्षण उस्तै रहेको उल्लेख गरेका छन् ।
बैठकमा सुदुरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेश प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गरेका थिए । उनीहरूले विशेष गरी माओवादी बलियो भएको स्थानमा अन्य दलसँग गठबन्धन गरेर कांग्रेसले समेत आफूहरूलाई हराउन सहयोगी बनेको बताएका थिए ।