काठमाडौं। ललितपुरमा भइरहेको देशभरका स्वतन्त्र उम्मेदवारहरूको जारी भेलामा आगामी संघीय निर्वाचनमा हुने समानुपातिक मतमा वैकल्पिक राजनीतिक शक्तिलाई सर्तसहित सहयोग गर्न सकिने प्रस्ताव पेस गरिएको छ। यद्यपि भेलाले यसलाई निर्णायक बनाइसकेको छैन।
मिसन १६५ दस्ताबेजमा विकल्पका रुपमा उभिएका राजनीतिक दलहरूले निर्वाचन मिति घोषणा अघि नै एकीकरण गरेको खण्डमा समानुपातिक मतमा स्वतन्त्र उम्मेदवार र तिनका समर्थकले सहयोग गर्ने प्रस्ताव पेस गरिएको हो।
डम्बर साहुले प्रस्तुत गरेको दस्ताबेजमा उक्त विषय उल्लेख छ। भेलाको प्रमुख अतिथि काठमाडौंका मेयर बालेन्द्र साहलाई बनाइएको थियो। स्वतन्त्र उम्मेदवारको प्रस्ताव अनुसार शुक्रबार मात्रै निर्वाचन आयोगबाट दलको मान्यता पाएको राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील नेपाली दललगायतको एकीकरण भएको खण्डमा मूलधारका मुख्य राजनीतिक शक्तिलाई धक्का हुनेछ।