काठमाडौं। नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले अलग बैठक राखी रचनात्मक विद्रोहको तयारी गरेको छ। पार्टीभित्र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको एक्लौटी र मनोपोली जारी रहेको तथा पार्टीका नेताको भन्दा पनि गठबन्धनका नाममा माओवादीको हुकुमतलाई मानेको उक्त पक्षको ठहर छ।
चुनावमा गठबन्धन गरी जाने देउवाको निर्णय पनि गलत भएको र आगामी संघीय तथा प्रादेशिक चुनावमा पनि गठबन्धनसहित जानका लागि पार्टीमा कुनै जानकारी नगराउने तयारीविरुद्ध बहस चलाउने कोइराला पक्षको तयारी रहेको छ।
कोइराला पक्षले अहिले कांग्रेसको चुनावी माहौल रहेको र कम्युनिस्टसँगको सहकार्य आवश्यक नरहेको बहस चलाएको छ। यदि देउवाले आगामी निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरेका त्यो अमान्य हुने छलफल तल्ला तहसम्म चलाउने कोइराला पक्षको तयारी रहेको छ।
‘प्रधानमन्त्रीका रुपमा उम्मेदवार तय गरी चुनावी प्रतिस्पर्धामा जानुपर्छ भन्ने हाम्रो मान्यता हुनेछ। गठबन्धन नगरी कांग्रेसको एजेन्डाका आधारमा चुनावमा जानुपर्छ भन्ने बहस तलसम्म चलाउनेछौं’, एक नेता भन्छन्,‘त्यसअघि पार्टी नेतृत्व समक्ष उक्त विषयमा जानकरी गराइनेछ।’