काठमाडौं । जसपामा महत्वपूर्ण निर्णय लिँदा तीन शीर्ष नेताहरुमा रहेको अधिकार खोसिएको छ ।
सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले उक्त अधिकार अब अध्यक्ष उपेन्द्र यादवमा रहने गरी निर्णय गरेको छ ।
यसअघि कुनै पनि महत्वपूर्ण निर्णयका लागि अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो ।
यसैबीच जसपाले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने भएको छ । केही दिन अघि मात्र सत्तारुढ अर्को दल नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फेरबदल गरेको थियो ।
सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको छ । यादव पक्षका नेताहरूको बैठक बसी सबै अधिकार अध्यक्षलाई दिने निर्णय भएको हो ।
जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् । अब उनीहरूलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने छ ।
एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै जसपामा पनि मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मोहम्मद इस्तियाक राईलगायतका नेताहरूको छुट्टै भेलाले मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाब दिँदै आएको थियो । सोहीअनुसार अहिले यादवले यस्तो निर्णय गरेका हुन् ।
केही हप्ता अघिमात्र संघीय परिषद् अध्यक्ष डा. भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गएर यादव गर्नसक्ने मन्त्री फेरबदलको एकलौटी निर्णय कार्यान्वयन नगर्न आग्रह समेत गरेका थिए । अर्का शीर्ष नेता अशोक राई भने यतिबेला निष्कृय जस्तै छन् ।