काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।
सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार महासचिव डा बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । उक्त प्रतिवेदनमा मुलुकको वर्तमान अवस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु समावेश छन् । राष्ट्रिय विषयमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि गठबन्धनको औचित्य र आवश्यकताबारे प्रतिवेदनमा प्रष्ट पारिएको छ । सो प्रतिवेदनलाई यही १३ गते बस्ने केन्द्रीय परिषद् बैठकमा छलफल गरिने छ ।
बैठकले पार्टीका चार केन्द्रीय सदस्य लोकबन्धु काङ्दङ्वा झापा, तरकबहादुर शाही दैलेख, राज्यलक्ष्मी बम मल्ल मुगु र नारद मलासी डोटीलाई साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । उनीहरूले स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन विपरित कार्य गरेको भन्दै बैठकले कारवाही गरेको हो । त्यसैगरी पार्टीको केन्द्रीय सदस्यमा कपिलदेव पटेल, पिताम्बर तिमिल्सिना, तोलाराम विष्ट र शङ्कर कुँवरलाई मनोनित गरेको छ ।
६ सांसदले गरे हस्ताक्षर फिर्ता
मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले शुक्रबार पार्टी अध्यक्ष नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, शनिबार संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् ।
स्वास्थ्यमन्त्री खतिवडा, सहरी विकासमन्त्री झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठ र सांसद निरा जैरूबाहेकका ६ जना सांसदले ससंदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर फिर्ता गरेको एकीकृत समाजवादी पार्टी सचिवालय स्रोतले जनाएको छ।
सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले भने हस्ताक्षर फिर्ता गरेका छन्।
यसैबीच समाजवादीका तीन मन्त्रीले शनिवार पनि पार्टी निर्णय कार्यान्वयन नगर्न भन्दै प्रधानमन्त्री देउवालाई भेटेका छन् ।
मन्त्री सिफारिसलाई तत्काल शपथ गराउन आग्रह
सरकारबाट फिर्ता बोलाइएका मन्त्रीहरूले एकपछि अर्को सर्त राख्दै गर्दा नेकपा एसले मन्त्री सिफारिस गरेकाहरूलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने र पार्टीको निर्णय कार्यान्वयनका लागि भएको ढिलाइलाई आफूहरूको अपमानको रूपमा बुझ्ने चेतावनी दिएका छन् ।
एमालेसँग एकता र सहकार्यको सम्भावना
नेकपा एमाले र एकीकृत समाजवादी पार्टीका नेताहरूले आगामी चुनावअघि नै पार्टी एकता अथवा चुनावी सहकार्यको सम्भावना बलियो बन्दै गएको खुलासा भएको छ।
दुवै पार्टीका नेताहरू सम्भावित सहकार्यको ढोका खोल्न लालायित रहेको उनीहरूका पछिल्ला अभिव्यक्तिले संकेत दिइरहेको छ ।
शनिबार मात्रै एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले एमालेसँग संवाद र एकताका लागि पार्टीले विभिन्न सर्तहरू अघि सारेको पत्रकारहरूसमक्ष बताए ।
कानुनी र राजनीतिक रूपमा एमालेले एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा र अस्तित्व स्वीकार नगरेसम्म एकताका लागि कुनै संवाद हुन नसक्ने खतिवडाको भनाइ थियो ।
उनले भने, ‘सहकार्य गर्न खुला छौँ । सबैसँग छलफल गर्न खुला गर्नेछौँ । पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो । तर पाँच दलभन्दा बाहिरका दलसँग पनि खुला छलफल गर्नेछौँ । देशभक्त र वामपन्थीहरूसँग व्यापक सहकार्य चाहन्छौँ ।’
यसबारेमा छलफल अगाडि बढाउने पार्टीको योजना रहेको उनले सुनाए। ‘देशभक्त, वामपन्थी र लोकतन्त्रको नयाँ ध्रुव सिर्जना गर्न हाम्रो पहलकदमीमा अघि बढ्न सक्छौं भन्ने कुरा भएको छ,’ प्रवक्ता खतिवडाले भने।
यसैगरी एमाले नेताहरूले पनि एकीकृत समाजवादीसँग एकताको ढोका खुला रहेको आशय व्यक्त गरेका छन् । स्थानीय तहको चुनावी परिणामबाट एमाले र एकीकृत समाजवादी दुवै दल सन्तुष्ट छैनन् ।