काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो ।
समसामयिक विषय र सांगठनिक कार्यका लागि बैठक बस्न लागेको भनिएपनि पछिल्लो समय सत्ताधारी दलहरुका शीर्ष नेताबीच चिसिएको सम्बन्धका कारण गठबन्धनको विकल्पमा पनि छलफल हुनसक्ने एक नेताले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले गरेको मन्त्री हेरफेरको निर्णय कार्यन्वयन नगरिदिँदा एकीकृत समाजवादी चिडिँदै गएको छ । एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषयले तनाव सिर्जना भएका कारण यतिबेला सत्ता गठबन्धन बचाउने कि नबचाउने भन्ने प्रश्न उठ्न थालेको छ ।
२२ जेठमा मन्त्रीहरू फेर्ने समाजवादीले निर्णय गरेको थियो । उक्त निर्णय अहिलेसम्म प्रधानमन्त्री देउवाले कार्यान्वयन गराएका छैनन् । सम्मानित नेता झलनाथ खनाल समेत प्रधानमन्त्रीको उक्त कदमका कारण रुष्ट देखिएका छन् । उनी पाँचदलीय गठबन्धनमा भन्दा वामशक्तिहरु एक हुनुपर्ने पक्ष बोल्दै आएका छन् । त्यसैले एकीकृत समाजावदीका पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा गठबन्धनको विकल्पको विषयमा पनि छलफल हुन सक्ने देखिएको छ ।
यसैगरी सत्तारुढ पाँचदलीय मोर्चामा कांग्रेस र माओवादीले चुनावी तालमेलमा इमान्दार नदेखिएको भन्दै त्यसको विकल्पमा एमालेसँग एकता गर्ने की भन्ने पार्टी भित्रैका नेताहरुले बताउन थालेको एक नेताले बताए । सम्मानित नेता खनालसहित एकीकृत समाजावदीका धेरै नेता कार्याकर्ता अहिले पनि एमाललेसँग एकता गर्ने पक्षमा देखिएका छन् ।
शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ । उक्त बैठकमा यी सबै मुद्धा र भावी सम्भाव्य पार्टीको रणनीतिमा खुलेरै छलफल चलाइने ती नेताले बताए ।