काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनमा हिंसाको रोजाइको औचित्य पुष्टि नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले कानुनी र शान्तिपूर्ण रूपमा नै आन्दोलनलाई अगाडि बढाउन सक्ने बाटो हुँदाहुँदै हिंसा रोज्नु गलत भएको बताए ।
१० वर्षे माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमाथि प्रश्न उठाउँदै उनले भने राणा शासनका विरुद्ध र निरंकुश राजतन्त्र र पञ्चायती शासनविरुद्ध फोर्सफुल्ली ब्यारियर खडा गरिएकाले शान्तिपूर्ण र संवैधानिक तवरले आन्दोलन सम्भव नभएको बताउँदै उनले त्यसपछि भएका हिंसात्मक आन्दोलनको भने औचित्य न्यायोचित रूपमा पुष्टि हुन नसकेको बताए ।
‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि ? कसका विरुद्ध ? के प्राप्तिका लागि भन्न्ने अझै टुंगोमा पुगेको छैन,’ ओलीले भने, ‘गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई नटुंगियो । २०६३ सालमा त गणतन्त्र त आएको थिएन । गणतन्त्र घोषणा (गणतन्त्र दिन्छु भनेर) गर्ने कसैसँग सम्झौता पनि भएको थिएन । केका लागि थियो ?’
अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा उनले नेपालले कुनै हीनताबोध राख्न नहुने भन्दै आपसमा कुनै समस्या भए संवादबाट समाधान गर्नुपर्ने बताए ।
वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर राख्न नसकेको भन्दै उनले प्रतिपक्षसँग कुनैपनि विषयमा सरकारले संवाद नगरेको आरोप समेत लगाए ।
अध्यक्ष ओलीले कुनै देशले आफ्नो भूगाग चाहियो भन्नु अर्घेल्याई नभएको स्पष्ट पार्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धि पछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गरे ।
उनले छिमेक सम्बन्धिलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भईसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताए ।