काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जित्दै आएको काठमाडौं क्षेत्र नम्बर ४ बाट युवा ईन्जिनियर आकर्षण पोखरेलले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने घोषणा गरेका छन् ।
क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आज बिहान आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए ।
आफूसँग विकासको एजेण्डा रहेको बताउँदै उनले पाँच बुँदे सूत्र समेत सुनाए ।
आफूले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण गर्दै उनले भने, ‘मैले मात्र होइन जुनसुकै उम्मेदवारले पनि योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक, यी पाँच चिजको प्रयोग गर्ने हो भने आज जति पनि समस्या तपाईं हामीले भोगिरहेका छौं, यी समस्या भोग्न पर्दैन ।’
उक्त कार्यक्रममा अभिनेता आर्यन सिग्देल पनि उपस्थित थिए । पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणामा उपस्थित भएका अभिनेता सिग्दलले परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने भएकाले इन्जिनियर पोखरेललाई आफ्नो समर्थन रहेको जनाएका थिए ।