बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक : प्रधानमन्त्रीका कारण समितिमै वादविवाद

सोमबार, असार ६ २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि समितिले ध्यानाकर्षण गराउने भएको छ ।

अन्तिम समयमा प्रधानमन्त्री देउवा बैठकमा अनुपस्थित भएको विषयलाई प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ध्यानाकर्षण गराउने भएको छ ।

सो समितिका सभापति पवित्रा निरौंलाले प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्दा बैठकमा नआएको विषयलाई लिएर ध्यानाकर्षण गराउने निर्णय लिने बताएकी थिइन् । सभापति निरौलाको उक्त घोषणालाई लिएर कांग्रेस सांसदहरुले भने आपत्ति जनाए ।

‘प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि आमन्त्रण गरिएको थियो, अन्तिम क्षणमा आएर सचिवालयमार्फत् उपस्थित नहुने जानकारी गराउनुभयो,’ बैठकलाई अन्त्य गर्दै सभापति निरौलाले भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

सभापतिको सो घोषणासँगै नेपाली कांग्रेसका सांसदहरूले भने आपत्ति जनाए । ध्यानाकर्षण गराउने विषयलाई लिएर सांसदहरुबीच वादविवाद समेत भएको थियो । सत्ता पक्षका सांसदहरुले प्रधानमन्त्रीले आउन नसक्ने जानकारी गराएपछि समितिमा रहेका कांग्रेसका प्रतिनिधि सांसदहरू पुष्पा भुसाल र दिव्यमणि राजभण्डारीलगायतले भने सभापति निरौलाको सो घोषणाप्रति असहमति प्रकट गरेका थिए ।

प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर सांसदहरू पक्ष र विपक्षमा उभिएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुबीच चर्काचर्की भएको थियो ।

समिति सभापति खरेलले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनुलाई ‘लोकतन्त्र र संसदीय समिति प्रणालीको प्रतिकूल’ भएको ठहर गर्नुपर्ने प्रस्ताव गरेपछि विवाद भएको हो । सत्तारुढ दल कांग्रेसका सांसद्हरुले प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने सन्देश पठाएपछि त्यस विषयमा धेरै विवाद गर्न नहुने जिकिर गरेपनि एमाले सांसद्हरुले भने प्रधानमन्त्रीले समितिलाई स्वीकार नगरेको तर्क गरेका थिए ।

समितिले अमेरिकाद्वारा प्रश्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो । तर, प्रधानमन्त्री देउवाले अन्तिम समयमा आएर मात्रै आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।