झापा । नेपाली कांग्रेस शिवसत्ताक्षी नगरपालिका वडा नम्बर ४ वडा कार्यसमितिले स्थानीय निर्वाचनमा वडामा पराजित उम्मेदवारले लगाएको गैरजिम्मेवारपूर्ण लाञ्छना र भ्रामक अभिव्यक्तिप्रति आपक्ति जनाएको छ ।
अन्तिम अवस्थामा वडाको सर्वसम्मत निर्णय विरुद्ध नेपाली कांग्रेस क्षेत्रिय समितिबाट वडाका उम्मेदवार बनाइएका राकेश ताजपुरियाले पार्टीका जिम्मेवार व्यक्तिको असहयोगका कारण आफू पराजित बन्नुपरेको भन्ने आसयका साथ दिइएको निवेदन र लगाउँदै आएको आरोपको खण्डन गर्दै वडा कार्यसमितिले उक्त अभिव्यक्तिप्रति खेदप्रकट गरेको हाे ।
जेठ २० गते बसेको वडा कार्य समितिको बैठकले उम्मेदवारले दिएको आरोपपत्रसहितको निवेदनप्रति आपत्ति जनाउँदै जिम्मेवारी पाएका सबै नेता, कार्यकर्ता र पार्टीका पदाधिकारीको अथक मेहनतका बाबजुद पनि वडामा पार्टी पराजित हुनुको कारणको समिक्षा पनि गरेको छ । बैठकले पराजित हुनुको कारणलाई गहिरो समिक्षा नगरी उम्मेदवार ताजपुरियाले आफ्नो असक्षमता लुकाउन लगाएको कपोकल्पित, निराधार र भ्रामक आरोप हाे भन्दै खण्डन गरेको छ ।
आफू स्थानीय तहको निर्वाचनमा पराजित बनेपछि वडाध्यक्षका उम्मेदवार राकेश ताजपुरियाले पूर्व जिल्ला सचिव भक्ति सिटौला, क्षेत्रिय कार्यसमिति सदस्य उमाकान्त उप्रेती, क्षेत्रिय प्रतिनिधि गोपाल तामाङ, हेमराज प्रसाईँ, पार्टी अग्रज क्रियाशिल सदस्य सत्यनारायण राजवंशी, जिल्ला सदस्य तथा आदिवासी समुदायका अग्रज नेता सुकदेव प्रसाद ताजपुरिया, प्रदेश क्षेत्र कार्यसमितिका सदस्य पूर्णकुमार शाह, वडा सभापति देवनारायण ताजपुरिया, वडा उपसभापति याम सिटौलालगायत ९ जनालाई कारवाहीकाे माग गरेको भन्ने सुन्नमा आएपछि क्षेत्रिय प्रतिनिधिहरु, कांग्रेस स्थानीय तहका विभिन्न कमिटीहरुका पदाधिकारीहरु सम्मेलित नगर कमिटी बैठकले उक्त आरोप निराधार, कपोकल्पित र भ्रामक भएको ठहर गरेको हो ।
उक्त समिक्षागत बैठकका निर्णयहरु:

बैठकले यसरी कसैको योग्यता र लोकप्रियतामा साख गिराउनकै लागि आरोपित गर्नु अत्यन्त गैरजिम्मेवार, अराजक, अनुशासनहिन कृयाकलाप भएको भन्दै घोर भत्सर्ना र निन्दासमेत गरेको छ ।
वडा समितिका दुईजना बाहेक सम्पूर्ण पदाधिकारी र क्षेत्रिय प्रतिनिधि उपस्थित उक्त बैठकले आरोपकर्ता, सञ्चार माध्यम र सम्बन्धितलाई यस प्रकारको झुठा, मनगडन्ते, मिथ्या आरोप तत्काल फिर्ता लिइ सार्वजनिक रुपमा आफ्नो गल्ती स्वीकार गरी आत्मालोचना गर्न निर्देश समेत गरेको छ ।
बैठकले पार्टी पराजित हुनुका कारणमा वडा कार्यसमितिको सर्वसम्मतिमा छनाेट भएका वडाध्यक्षका उम्मेदवार महेश्वर दुलाल सहितको पाँचै जनाको उम्मेदवारी मनोनयनको दिन विना कारण उपल्लो समितिले परिवर्तन गर्नु, जसको परिणामत मतदातामा नराम्रो म्यासेज जानु, नयाँ छनाेट भएका उम्मेदवारको हैसियत तुलनात्मक रुपमा प्रतिपक्षभन्दा कमजोर र फितलो हुनु जस्ता मुख्य कारण ठहर गरेकाे छ ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति र जिल्ला समितिको निर्देशन तथा पार्टी विधान बमोजिम वडाका सम्पूर्ण कृयाशिल सदस्यको भेलाले वडा नम्बर ४ मा सर्वसम्मतबाट वडाध्यक्षमा महेश्वर दुलालसहित वडासदस्यहरुमा भुपाल राजवंशी, गोपाल तामाङ, पवित्रा ताजपुरिया र सरिता लकान्द्री विश्वकर्माको नाम सिफारिस भएको थियो भन्दै उक्त सर्वसम्मत निर्णयमा पछि उम्मेदवार बनाइएका राकेश ताजपुरियाको समेत हस्तलिखित सहमति रहेकाे दाबी गरिएकाे छ ।
यसको बाबजुद क्षेत्रले स्थानीय वस्तुस्थिति, विपक्षी उम्मेदवारको क्षमतालाई समेत ख्याल नगरी, वडाले गरेकाे सर्वसम्मत निर्णय विरुद्ध मनोमानी र गैर तौरतरिकाबाट नयाँ उम्मेदवारको नाम सिफारिस गरेको वडाकाे ठहर छ ।
मनोनयनको दिन अन्तिम समयमा क्षेत्रिय समितिबाट वडाध्यक्षमा राकेश ताजपुरियासहित वडासदस्यमा नयाँ पाँच जनालाई टिकट दिइएको थियो ।
योगदान र पदिय जिम्मेवारीको ख्याल नगरी उपल्लो समितिले स्थानीय स्तरमा नरुचाइएका नयाँ उम्मेदवार खडा गरेको भन्दै स्थानीय कांग्रेसजनमा निराशा छाएको थियो । उक्त निर्णयको विरुद्धमा लामोसमयदेखि पार्टीमा आवद्ध केही कृयाशिल सदस्यहरुले पार्टी परित्यागको घोषणा समेत गरेका थिए । उनीहरुले पार्टी विधान अनुसार सर्वसम्मत छनोट भएका उम्मेदवारलाई टिकट नदिई जिल्ला कार्य समितिले विधि, पद्दती र प्रक्रियाको धज्जी उडाउँदै गोजीका मान्छेलाई उम्मेदवार बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।
उपल्लो समितिको बलजफत निर्णय र स्थानीय वस्तुस्थितिको मूल्यांकन नगरी खडा गरिएका स्थानीय स्तरमा अलोकप्रिय, पार्टीमा समेत कम याेगदान भएका उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णयले अहिले पनि कांग्रेसजनमा निराशा देखिएको स्थानीयले बताउँदै आएका छन् ।
यसर्थ कसैकाे कपोकल्पित आरोप, भ्रामक अभिव्यक्ति र आधारप्रमाणहिन आक्षेपलाई आधार मानेर पार्टीमा लामो समय जीवन व्यथित गरेका खास नेता कार्यकर्तामाझ चोट पुग्ने गरी कसैले त्याग तपस्या र मेहनतले पार्टीमा बनाएको लोकप्रियता र स्तरमाथि आँच पुर्याउने र साख गिराउने अभिप्रायले मञ्चन भएका कुकृत आक्षेपका कारण पार्टीमा सृजना हुनसक्ने बेमेलले साविक पाँचगाछीमा कांग्रेस कमजाेर हुने निश्चित देख्छन् स्थानीय कांग्रेसजन् ।
वडाध्यक्षका उम्मेदवार ताजपुरियाको पार्टीमा कमजाेर हैसियत र योगदानका कारण र पार्टीको उपल्लो तहकाे गलत निर्णयकै कारण गढ मानिएको पाँचगाछीमा कांग्रेस पराजित बन्नु परेको भन्दै स्थानीय कांगेस कार्यकर्ता निरास बनेका छन् ।
लाञ्छना लागेका भक्ति सिटौलाको पार्टी इतिहास
२०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिकयात्रा सुरु गरेका झापाका पूर्व जिल्ला सचिव भक्ति सिटौला जिल्ला स्तरमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।
केन्द्रसम्म बलियो पकड बनाएका नेता सिटौला विसं २०४१ नेविसंघ झापाको सचिव र मेची क्याम्पसको इकाइ सभापति, जिल्लामा तत्कालीन पञ्चायती ब्यवस्थाविरुद्ध अग्रमोर्चामा रही सशक्त रुपमा संघर्ष गरेका सिटौला स्थानीय स्तरमा निकै लोकप्रिय मात्र होइन साविक पाँचगाछीलगायतका क्षेत्रमा कांग्रेस जन्माउने नेताका रुपमा परिचित छन् ।
०४२ को सत्याग्रह आन्दोलनमा सकृय रहेका नेता सिटौला ०४६ को संयुक्त जनआन्दोलनमा पक्राउ समेत परेका थिए । पटक-पटक पक्राउ र यातना खेपेका सिटौला ०४८ मा नेपाली कांग्रेस झापाको सहसचिव, दुई कार्यकाल सचिव, सात पटक महाधिवेशन प्रतिनिधि र पाँच पटक महासमिती सदस्य समेत रहेर काम गरिसकेका छन् ।
लोकतन्त्र र सामाजिक रुपान्तरणका लागि छदाखाँदाको स्थायी शिक्षण पेसा छाडेर पार्टी राजनीतिमा क्रियाशिल भएका सिटौलासँग पार्टीको केन्द्र र जिल्लाले तोकेका धेरै जिम्मेवारी पूरा गरेको अनुभव छ । प्रष्ट र प्रखरबक्ताका रुपमा परिचित नेता सिटौला सामान्य किसान परिवारबाट कृयाशिल, क्षेत्र र नगरमा अत्यन्तै लोकप्रिय मानिन्छन् ।
अनवरत रुपमा पार्टीमा सकृय नेता सिटौलामा स्वच्छ छवि एवं सरल ब्यक्तित्व, जोसँग पनि सहजै मिल्न र घुलमिल हुने स्वभाव छ । नेता सिटौलालगायत पार्टीका क्रियाशिल नेताकार्यकर्ता प्रति लगाएको यस प्रकारको मिथ्या र कपोकल्पित आरोप उनीहरुको मानप्रतिष्ठामा आँच पुर्याउन, बढ्दै गएको लोकप्रियतामा ह्रास ल्याउन रचिएका प्रपञ्च मात्र हुन् भन्ने बुझाइ रहेको स्थानीय कांग्रेसजनले बताउँदै आएका छन् ।