बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

संसदमा राजेन्द्र लिङदेनले राखे स्वतन्त्र चुनावी सरकार गठनकाे प्रस्ताव

बुधबार, असार १ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरे ।

केही समयमा सो निर्वाचनको मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने, निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष लिङदेनले भने, ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं । यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अव केही समयमा आम निर्वाचनको मिति घोषणा हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु-निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन होस् ।’

राष्ट्रियतालाई फेरि पनि संकटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीसी) ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई पटकपटक सचेत गराए ।