काठमाडौं । नेकपा एमालेकाे सचिवालय बैठकले पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको छ ।
एमालेले स्थानीय तहको निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएपनि पपुलर मतका आधारमा आफू पहिलो शक्तिका रुपमा रहेको एमालेले ठहर गरेको हो ।
एमाले नेता प्रदीपकुमार ज्ञवालीले सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताए। ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले निर्वाचन भएन भन्ने हो,’ उनले भने, ‘जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट दिशा निर्देशित भयो ।’
निर्वाचन प्रकृयामा सत्तारुढ गठबन्धनबाट भएका यी विकृतिप्रति आफूहरुको गम्भीर चिन्ता रहेको उनले बताए । उनले २०७४ को निर्वाचनभन्दा एमाले कमजोर भएको तर पपुलर मतमा एमाले अग्रपंक्तिमा कायमै रहेको जिकिर गरे । ‘३४ प्रतिशत पपुलर मत सहित एमाले अहिले पनि अगाडि छ,’ उनले भने । केही ठाउँमा एमालेकै कतिपय साथीले घात–अन्तर्घात गरेको भन्दै उनले पुष्टि भएका ठाउँमा सम्बन्धित कमिटीले कारबाही गर्ने पनि बताए । २०६४ देखि नेपालको मतको ‘प्याटर्न’ हेर्दा नेकपा एमाले र नेपाली काँग्रेस देशको मुख्य शक्ति रहेको र पपुलर मतमा एमाले नै पहिलो शक्ति देखिएको उनको भनाइ थियो ।
अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा लाग्ने निर्णय बैठकले गरेको पनि उनले जानकारी दिए ।
साथै एमालेले नेपालको बाह्य सम्बन्धमा विचलन देखिएको निष्कर्ष निकालेको छ । सोमबारको सचिवालय बैठकले सरकारका कारण बाह्य सम्बन्धमा विचलन देखिएको भन्दै त्यसको विरोध, खबरदारी र भण्डाफोर गर्ने निर्णय गरेको हो । नेता ज्ञवालीका अनुसार नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम सरकारले गरेकोमा बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ । त्यसको आलोचना, विरोध र भण्डाफोर गर्ने तथा नेपालको स्वाधीनता, स्वतन्त्रतामा आँच आउन नदिने गरी पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।
एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित प्रमुख(उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई असार २ र ३ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने दुई दिने प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा समृद्धिका आधारशीला कसरी तलैबाट तयार गर्ने, समाजवादको आधार कसरी तयार गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा कसरी योगदान गर्ने भन्नेबारे प्रशिक्षण दिन लागिएको हो ।
पत्रकारहरुसँग उपमहासचिव ज्ञवालीले वामपन्थी शक्तिहरू एक ठाउँमा आउने अनुमान सही नभएको बताए। उनले भने, ‘वामशक्ति एकताको अनुमान सही होइन । यसबीचमा विभिन्न राजनीतिक दलका नेताहरूबीच छलफलहरू चलिरहेको छ,’ ज्ञवालीले भने । उनले नेकपा एमालेजस्तो मूल वामपन्थी शक्तिलाई परास्त गरेर नेपाली कांग्रेसलाई सत्तामा पुर्याउनेलाई वामपन्थी भन्ने कि नभन्ने भन्दै प्रश्न समेत उठाए । अहिले एमाले देशको बलियो शक्तिको रूपमा थप सुदृढ बनाउने अभियानमा रहेको समेत उनले बताए । ‘वामपन्थी साथीहरू जसले कम्युनिष्ट आन्दोलनलाई बलियो हुँदा खुसी हुने होइन कि कम्युनिष्ट आन्दोलनको मूल शक्तिलाई परास्त गरेर कांग्रेसलाई शिरमा चढाउँदा, उसलाई धुरीमा पुर्याउँदा खुसीयाली मनाउने खालका साथीहरू हुनुहुन्छ,’ उनले भने, ‘त्यसलाई कति वामपन्थी भन्ने छ । अहिले नेकपा एमाले मूलतः एउटा बलियो राष्ट्रिय शक्तिको रूपमा थप सुदृढ बनाउने अभियानमा छ ।’