काठमाडौं । एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भनिएको अमेरिका भ्रमणका विषयमा हालसम्म सदनमा जानकारी नगराइनुको कारण बारे प्रश्न उठाएका छन् ।
यसैगरी रावलले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको भन्दै संसदमा केही गम्भीर प्रश्न समेत उठाए । प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै एमाले नेता रावलले नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न समेत माग गरेका छन् ।
सांसद रावलले देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको बताउँदै अझ सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशको अवस्ता के होला भन्दै टिप्पणी गरे ।
साथै उनले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक लिम्पियाधुरा, कालापानी बारेको प्रधानमन्त्रीको धारणा माग गरे । भारतसँगका पुराना सन्धी/सम्झौताका बारेमा पनि देउवाले कुरा नउठाएको भन्दै रावलले आलोचना गरे ।
यसैगरी एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।
प्रधानमन्त्री देउवाको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको रहेको भन्दै उनले यसबारे संसदमा जानकारी दिनुपर्ने बताए ।