बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्री फेरबदलको दबाबमा सत्तारूढ नेतृत्व 

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं । सरकारमा सामेल मध्येका ४ दलभित्र मन्त्री हेरफेरको विषयले यति बेला राजनीति नै तरंगित भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेरबदलको निर्णय गरेसँगै सत्तासीन अन्य दलभित्र पनि यो विषयले प्रवेश पाएको हो ।

अहिले उक्त विषयले नेपाली कांग्रेस र नेकपा माओवादीमा पनि प्रवेश पाएको छ । जनता समाजवादी पार्टीभित्र पहिल्यैदेखि फेरबदलको चर्चा हुँदै आएको छ । एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जसपाभित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ ।

यसैगरी माओवादी नेताहरूले समेत मन्त्री हेरफेर गर्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् । समाजवादीले आफ्नो पार्टीको तर्फबाट गएका मन्त्री फेर्न सिफारिस गरेपछि माओवादी अध्यक्ष प्रचण्डलाई पनि मन्त्री फेर्न दबाब छ । मंगलबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि पार्टीका कतिपय नेताहरूले मन्त्री फेर्ने कुरा उठाएको बताए । मन्त्री फेर्ने कुरा उठे पनि पार्टीमा भने छलफल नभएको उनको भनाइ थियो । 

एकीकृत समाजवादीले मन्त्री फेरबदल गर्न गरेको निर्णय अन्तिम समयमा आएर रोकिएको थियो । हालै नेकपा एकीकृत समाजवादीले सरकारमा रहेकाहरुलाई फिर्ता बोलाएर अरु नेतालाई सरकारमा पठाउन प्रधानमन्त्रीसमक्ष नाम बुझाइसकेको छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र तत्काल मन्त्री नफेर्ने समझदारीअनुसार एकीकृत समाजवादीबाट मन्त्री भएकाहरू फिर्ता भएका छैनन् । तर, यसका अध्यक्ष माधवकुमार नेपाल चाँडै आफ्नो तर्फका पुराना मन्त्री फिर्ता हुने र नयाँ बन्ने बताउँदै आएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताए । संसद् भवनमा बुधबार  सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादभित्र पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन् । ‘समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ,’ उनले भने, ‘जसपामा दबाब छ । यो दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रोमा पनि अहिले फेर्नुपर्छ कि भन्ने खालका आवाज उठिरहेको छ ।’ तर, मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको उनको भनाइ छ । 

मन्त्री फेर्ने नेकपा एकीकृत समाजवादीको निर्णय बजेटलगत्तै कार्यान्वयन हुने नेताहरू बताउँछन् । एकीकृत समाजवादीको तर्फबाट शहरी विकास मन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरी पार्टीले निर्णय गरिसकेपछि कार्यान्वयन हुने बताए । ‘पार्टीले निर्णय ग-योे, निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ,’ उनले भने, ‘समय केहीदिन ढिला मात्रै भएको हो ।’
गठबन्धन दल जसपाले समय मागेपछि मन्त्री फेर्ने निर्णय केही समय रोकिएको उनको दाबी छ । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगे अन्य पार्टीमा भूइँचालो गएको बताएका छन् । अन्य पार्टीमा गएको भूइँचालोकै कारण आफूहरूको निर्णय कार्यान्वयन नभएको उनले संकेत गरे । ‘निर्णय किन लागु भइरहेको छैन भन्ने होला,’ उनले भने, ‘अर्को पार्टीमा पनि भूईँचालो गएकोले होला । उहाँहरूले केही दिन माग्नुभयो होला सबै दोष हाम्रो मन्त्रीहरूलाई नदिऔँ ।’

आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू ‘फेरबदल’को गर्ने निर्णयमा कुनै असन्तुष्टि नरहेको उनले बताए । ‘हामीले मन्त्रीहरूको फेरबदल गर्ने निर्णय गरेका छौँ । नेपालले भने, ‘पार्टीको निर्णय मान्छौँ भनेका छन् । कुर्सीमा टाँस्सिएर बस्दैनौँ, भनेका छन् ।’