धनगढी । कैलालीमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग जिल्ला समन्वय समितिका लागि सम्झौता गरेको नेकपा माओवादी केन्द्रले तीन दिनमै सत्तागठबन्धनसँग पनि अर्को सम्झौता गरेको छ ।
तीन दिनअघि जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुखसहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले पाउने गरी समन्वय समितिमा तालमेल गर्ने तीन दलीय लिखित सहमति भएको थियो ।
सो सहमति पत्रमा नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड) र सुरेन्द्र देवकर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव लोकेन्द्र शाही र ममता चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट केन्द्रीय सदस्य दामोदर पण्डित, रमेश विक र लालवीर चौधरीले हस्ताक्षर समेत गरेका थिए ।

तर, सहमति भएको तीन दिन नबित्दै माओवादी केन्द्रले जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय तालमेलको निर्णय अनुसार कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी बताए ।
जिल्ला समन्वय समितिमा तालमेल गर्नेगरी नेपाली कांग्रेससँग सहमति भइसकेको र सत्ता घटककै अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल भइरहेको उनले जानकारी दिए ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले समन्वय प्रमुख प्रमुख कांग्रेस र उपप्रमुख सहित ३ सदस्य माओवादी केन्द्रले पाउने गरी सहमति भएको बताए । उनले एकीकृत समाजवादी पार्टीसँग भने छलफल भइरहेको बताए ।
उनका अनुसार शनिबार कैलालीका मसुरीयामा सम्पन्न बैठकमा समन्वय समितिका लागि तीन दलीय गठबन्धन गर्ने निर्णय भएको हो ।
‘माओवादी केन्द्र र नेपाली कांग्रेसबीच लगभग सहमति भइसकेको छ,’ सभापति भट्टले भने, ‘एकीकृत समाजवादी पार्टीसँग थप छलफल गरेर हामी टुङ्गोमा पुग्नेछौं ।’
उनका अनुसार नेपाली कांग्रेसले प्रमुखसहित एक सदस्य, माओवादीको उपप्रमुखसहित तीन सदस्य र नेकपा एकीकृत समाजवादीको तीन सदस्य पाउने सहमति भएको छ ।
बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको थियो । कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख–उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमतभन्दा बढी हो । १३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जना एक ठाउँमा उभिनुपर्ने हुन्छ ।
माओवादी केन्द्र नेपाली कांग्रेससँग मिलेपछि गठबन्धनसँग १३ मत पुगेको छ । तर समन्वय समिति गठन गर्न भने १४ मत आवश्यक पर्ने छ । कैलालीमा नेपाली कांग्रेससँग ८, माओवादी केन्द्रसँग ४ र नेकपा एकीकृत समाजवादी पार्टीसँग एक मत छ ।
उनीहरूलाई जीतका लागि स्वतन्त्र उम्मेदवारको आवश्यकता पर्ने देखिएको छ । अल्पमतमा परेका नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीलाई भने स्वतन्त्र उम्मेदवारको समर्थन पाउँदा समेत बहुमत पुग्ने अवस्था देखिँदैन । कैलालीमा नागरिक उन्मुक्ति पार्टीसँग ७ र नेकपा एमालेसँग ५ मत रहेको छ ।
यसैबीच कैलालीमा जिल्ला समन्वय समितिका लागि गठबन्धन गर्दा नेकपा माओवादी केन्द्रभित्र भने विवाद बढेको छ ।
बिहीबार माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञवालीले जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गर्ने लिखित सहमति गरेको थियो । तर, शनिबार प्रदेश कमिटीले सो निर्णय उल्ट्याउँदै जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको हो ।
प्रदेशको सोनिर्णबाट कैलाली इन्चार्ज ज्ञवाली रुष्ट बनेका छन् । ज्ञवालीले जिल्ला समन्वय समिति गठन गर्न बिहीबार तीन दल (नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादी) बीच भएको सहमति कायमै रहेको समेत बताए ।
यता माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरीले भने एमाले र नागरिक उन्मुक्ति पार्टी सँग समन्वय समिति गठन बारेमा लिखित सहमति नै नभएको र सामान्य छलफलमात्रै भएको बताएका छन् ।