काठमाडौं । चितवनमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारीलाई तिब्र पारिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी सुरु गरेका छन् ।
चितवन प्रशासनले २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा बन्देज लगाइसकेको छ । सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।
अस्पतालहरूले पनि सङ्क्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमितको नियमित उपचार हुँदै आएको जानकारी दिँदै अहिले २८ शय्या छुट्याइएको बताए । तीमध्ये १० शय्या सघन उपचारकक्ष र १८ शय्या एचडीयू रहेका छन् ।
अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्याङ्कसमेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने विश्वास गरिएको छ ।
भरतपुर अस्पतालले दुई दिनअघि कोभिड प्राविधिक समिति नै बनाएर कोभिड सङ्क्रमितको उपचारको थप तयारी गरेको हो ।
अहिले चितवनका अस्पतालमा १३ सङ्क्रमितको उपचार भइरहेको छ ।
तीमध्ये तीन जना सघन उपचारकक्षमा उपचाररत छन् ।