बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मिस वर्ल्डको ग्राण्ड फिनाले अन्तिम आवरमा स्थगित , नेपालबाट गएकी नम्रता श्रेष्ठ पनि आइसोलेसनमा

शुक्रबार, पुष २ २०७८

काठमाडौं । उत्तरपूर्वी क्यारेबियन सागरमा अवस्थित पोर्टो रिकोमा हुन लागेको मिस वर्ल्डको ग्राण्ड फिनाले मुखैमा आएर अनिश्चित कालका लागि स्थगित भएको छ ।

नेपाली समय अनुसार आज विहान( १७ डिसेम्बर ) मा सुरु हुने प्रतियोगिता एक दिन अगाडि स्थगित गरिएको हो ।  

प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको भन्दै आयोजकले प्रतियोगिता कम्तीमा ९० दिनकालागि स्थगित भएको जनाएको छ ।

मिस वर्ल्ड आयोजकले विज्ञप्ती मार्फत तीन महिनाका लागि स्थगित गरेको जनाए पनि पुनः हुने नहुने केहि खुलाइएको छैन । आयोजकले कोरोनाको स्थिती सुधार भएको खण्डमा ९० दिन भित्र गर्ने सकिने मात्रै भनेको छ ।

सात जना प्रतिष्पर्धीमा संक्रमण पुष्टि भएपछि त्यहाँको स्वास्थ्य विभागले कार्यक्रम रोक्न निर्देशन दिएको हो ।

अन्यलाई पनि आइसोलेशनमा राखिएको छ ।

नेपालबाट प्रतियोगितमा भाग लिन गएकी नम्रता श्रेष्ठसहितका सबै प्रतिष्पर्धीको कोभिड परीक्षण गरेर मात्रै उनीहरुलाई स्वदेश फर्काइने आयोजक जुलिया मर्लीले बताइन् ।  

अहिले विश्वभर कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि यसले सन्त्रास फैलाएको छ ।