काठमाडौं। नेपाली फिल्म उद्योगमा योगदान गरिरहेकी अभिनेत्री रेखा थापा यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री पदकी दाबेदार हुन्।
महिला कोटामा रहेको महामन्त्री पदमा उनले अध्यक्षका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। शुक्रबार सम्भवतः उनले उम्मेदवारी दर्ता गराउनेछिन्।
उनी आवद्ध प्यानललाई महाधिवेशनमा बलियो मानिन्छ। उक्त प्यानलमा महामन्त्रीका अर्का बलिया उम्मेदवार हुन् धवल शमशेर राणा। लिङ्देन, थापा र राणा राप्रपाभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय छन्।
थापा ‘म्याडम महामन्त्री’ बन्ने होडमा छिन्।
मोरङको सलकपुरमा जन्मिएर अभिनय यात्रामा खारिएकी अभिनेत्री थापाले राजनीतिक नेतृत्व सम्हाल्नेगरी सक्रियता देखाएकी छन्। तत्कालिन नेकपा माओवादीबाट राजनीति गर्नेगरी अघि सरेकी उनी नेतृत्वमा पुग्ने कठोर यात्राका लागि तत्कालिन राप्रपा संयुक्तमा प्रवेश गरेकी थिइन्।
राप्रपा र तत्कालिन राप्रपा नेपाल एकीकरणका समयमा थापाले हिन्दूत्व र राजसंस्थालाई मानक बनाएको पार्टीको पदचाप समातिन्। उनीसँगै कोमल वलीलगायतका कलाकार पनि राप्रपामा प्रवेश गरेका थिए। तर, वली अहिले एमालेमा छिन्। थापा भने राप्रपामा नै सक्रिय रहँदै नेतृत्वमा उदाउने तयारीमा छिन्।
‘नेपालमा मौलिक राजनीति हुनुपर्छ भन्ने मान्यतामा थापा लागेको पाइएको छ। पार्टीमा एउटा निडर, हिम्मतवाली र बोल्न सक्ने क्षमता भएकी नेत्रीको खाँचो छ, उनले जित्नपर्छ’, एक प्रतिनिधि भन्छन्,‘परिवर्तन चहानले जिताउँछ।’