काठमाडौं । बिजुली किन्दै आएको नेपालले पहिलो पटक बेच्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतमा निर्यात सुरु गरेको हो ।
गएराति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यसअघि यही लाइनबाट नेपालले बिजुली किन्दै आएको थियो । अहिले सोही लाइनबाट निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
हालै नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको थियो । यो अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको हो ।
प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज आइआइएक्समा बिक्री गर्न थालिएको छ ।
साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोशी विद्युत् गृहबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्रीको अनुमतिका लागि समेत आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ ।