काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलिदेखि सुलभ मूल्यमा खसीबोका बिक्री गर्ने तयारी गरेको छ । लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले आज दिउँसो मूल्य निर्धारण गरेर भोलिदेखि बिक्री थालिने बताए ।
खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने योजना बनाएको छ । दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट ल्याइएका खसीबोका कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ । खनालका अनुसार हिजो बेलुकासम्ममा दाङबाट एक सय ९० वटा खसीबोका ल्याइएको छ ।
दाङबाट जम्मा ८ सय खसीबोका ल्याउने योजना छ ।
मकवानपुरबाट भने आज बिहानदेखि मात्रै खसीबोका ल्याउन थालिएको छ । मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाण्डौ ल्याइनेछ ।
खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।