बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वीरगंज नाकामा सवारी आवागमन खुलेसँगै व्यवसाय पुरानै लयमा फर्किदै

शनिबार, असोज १६ २०७८

काठमाडौं । मुलुकै ठूलो नाकामध्येको एक पर्सा अन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ ।

कोभिड–१९ को असहज स्थितिका कारण  अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् ।

असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो । 

भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत  दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष गोपाल केडियाले बताए । कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेका थिए । 

रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तको भनाई छ ।  
यसैबीच,
भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको  १५ लाख ५० हजार रुपैयाँसहित    तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पर्साको छपकैया–सिर्सिया नाकाबाट तीनवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । उनीहरु हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ ।