काठमाडौं । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित विक सम्पर्कविहिन भएका हुन् ।
२०६२ सालमा मलेसिया गएका विक हालसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन सरोकारवाला सबैलाई अपिल गरेका छन् ।
मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरे पनि त्यसपछि कुराकानी हुन छोडेको आमा विष्णुमायाले बताईन् । लामो समयसम्म पनि छोरा घर नफर्केपछि आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन् ।
काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा काम गर्दै थिए । चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको परिवारको भनाइ छ ।
सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेकाले मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सबैलाई आग्रह गरेका छन् ।