सप्तरीमा नेपाली सेनाको गाडी र पिकअप एक आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा झापा जिल्लाको दमक नगरपालिकाका पिकअप चालक ४२ वर्षीय मेघराज शर्मा छन्।
सो घटनामा अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। पिकअपका सहचालक सुनसरीको इटहरी नगरपालिका–५ का ५२ वर्षीय भवानी र आर्मी गाडीमा सवार रहेका खोटाङ जिल्लाको मझुवागढी नगरपालिका–१० का ४२ वर्षीय जमदार जीवन गिरी घाइते भएको प्रवक्ता काफ्लेले बताए। घाइते भएका गिरी १८ नं। बाहिनी उदयपुरमा कार्यरत छन्।
बुधबार करिब साढे तीन बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह कंकालिनी मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा १८ नं। बाहिनी गाईघाट उदयपुरको प्रदेश नं। ३–०१–००१ ग ३७२५ नम्बरको आर्मीको वन्टेन गाडी र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडी एक–आपसमा ठक्कर खाएको थियो।
आर्मीको गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको तथा घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।