बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

क्यान्टोनमेन्टको सवाल संसदमा, अख्तियार प्रमुख हटाउन प्रचण्ड कस्सिए

बिहिबार, साउन २८ २०७८

काठमाडौं । माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरक्षित रहेको छ। तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा नै क्यान्टोन्मेट भ्रष्टाचार प्रकरणको फाइल तयार भइसकेको थियो। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले उक्त विषयलाई सदनमा उठाएपछि अख्तियारले यस विषयमा थप छानबिन गर्ने भएको छ। जसका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थामिनसक्नु तनाव भएको बताइन्छ। 

प्रचण्ड प्रधानमन्त्री भएका बेला नै तत्कालिन प्रमुख आयुक्त कार्कीले पत्रकार सम्मेलन गरी क्यान्टोनमेन्ट घोटाला प्रकरणबारे जानकारी दिने तयारी गरेका थिए। प्रचण्ड भारत भ्रमणमा रहेका बेला गरिएको उक्त प्रयत्नलाई त्यहाँको संस्थापनको दबाबमा दबाइएको थियो भने केही दिनमा कार्कीलाई सर्वोच्च अदालतले हटाइदियो। 

हालका प्रमुख आयुक्त प्रेमकुमार राईले पनि उक्त प्रकरणको ठोस प्रमाणलाई एकजुट पारिरहेको सूचना पुगेपछि प्रचण्ड उनलाई अनेक प्रकारले हटाउन लागि परेको स्रोतको भनाई छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले हटाउन नसकिने र सबै विषय अदालतमा रहेका कारण समस्या हुने बताएपछि प्रचण्ड तनावमा छन्। 

उनी बारम्बार प्रेमकुमार राईलाई फोन हानी उक्त विषयमा कुनै कदम नउठाउन चेतावनी पनि दिइरहेको स्रोतको दाबी छ। प्रधानमन्त्री देउवालाई त प्रचण्डले अदालत मिलाउनुपर्ने भयो भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अख्तियारका नियुक्ति बदर गर्नका लागि दबाब दिन तम्सिएको बताइएको छ।

स्रोतले भन्यो,‘राजनीतिक रुपमा अहिले ओलीलाई हटाउन सफल भए पनि टाउकोमा बज्रिन सक्ने भ्रष्टाचारको मुद्दाबाट जोगिन अख्तियार प्रमुख राईलाई हटाउने प्रचण्डको ठूलो योजना छ।’