बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

किन काठमाडौँ नफर्कन निर्देशन दियो काम सकाएको छानबिन समितिलाई गृहमन्त्रालयले ?

बुधबार, साउन २७ २०७८

महाकाली तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा महाकालीको उर्लंदो भेलमा खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य बुझ्न घटनास्थल पुगेको छानवीन टोली अहिले दार्चुलामै छ ।

छानवीनको सबै काम काम सकिए पनि गृहमन्त्रालयले काठमाडौँ नफर्कन निर्देशन दिएपछि टोली दार्चुलामै अड्किएको हो । घटनाबारे छानवीन सकेर रिपोर्ट बनाउन भनी काठमाडौँ उड्नै लाग्दा सिंहदरबारबाट तत्काल नआउन आदेश भएपछि उनीहरु एक हप्ता म्याद थपेर थप वयान लिने नाममा उतै अड्किएका हुन् ।

छानवीनको औपचारिक काम सकेर सबै टिपोट गरिसकेको टोलीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँगको समन्वयमा भारततर्फको घटनास्थलको पनि अवलोकन गरेको थियो ।

भौगोलिक कठिनाईका कारण टोलीले नेपालतर्फ भने सेनाको हेलिकोप्टरबाट घटनास्थलको निरीक्षण गरेको थियो । अनुसन्धानका क्रममा पीडित परिवारजनसंग भेटघाट गरेको टोलीले सदरमुकाम खलंगामा पत्रकार,अधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिहरूसंग छुट्टाछुट्टै भेटघाट तथा छलफल पनि गरेको थियो ।

घटनाका प्रत्यक्षदर्शीसंगको बयानलगायत अनुसन्धानका सबै प्रक्रिया सकेर टोलीले खलंगामा दुई दिन पूरा बितायो । महाकाली नगरपालिकाको पाहुनाकक्षमा दुई दिन बिताएको टोलीको सुरक्षार्थ सशस्त्र प्रहरीले २४ घण्टे कडा डिउटी गरेको थियो ।

घटनाका सबै सरोकारवालाहरूसंग (एसएसबी) संग समेत छलफल,भेटघाट, स्थलगत अवलोकन सबै सकेर समितिले दार्चुलामै प्रतिवेदन लेखनको काम सकेको धेरैको बुझाइ थियो ।

तर, साउन २५ गते दार्चुलाबाट फर्किएको टोलीलाई काठमाडौं नपुग्दै एक साताको म्याद थपिएपछि उतै अड्किनु परेको हो । सम्बध्द स्रोतले बताएअनुसार दार्चुलामै प्रतिवेदन तयार भए पनि दुई देशको सम्बन्धमा खलल पर्ने विषय परेको आशंकामा गृहले उनीहरुलाई तत्काल काठमाडौँ नआउन भनेको हो ।

तत्काल काठमाडौं फर्कंदा सर्वसाधारणलाई समेत चासो हुने भएकाले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी,प्रशासन र सरकार भिडिरहेको देखाउन पनि टोलीलाई केही दिन उतै बस्न निर्देशन दिइएको हुनसक्ने सम्बद्ध स्रोतले बताएको छ । स्रोतले भनेको छ,‘रिपोर्ट पेश गर्ने बित्तिक्कै के हो, कसो हो भन्ने चर्चा हुन्छ, त्यसैले केही दिन त्यहिँ भुल्न भनिएको होला । नत्र काम भने सकिइसकेको छ ।’

स्रोत अगाडि भन्छ, ‘महाकालीको भेलमा हराइरहेका धामीलाई ड्रोन क्यामेराले पत्ता लगाउने र छानवीन समितिले घटनाको वास्तविकता बाहिर ल्याउने कुरा उस्तै हुन् । यी दुबै कुरा सरोकारवालाहरुलाई ढाँट्नेसिवाय अरू केही होइन ।’ जनाआश्था साप्ताहिकमा खबर छ l