बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

केपी ओलीविरुद्ध देशभर माधव नेपालको यस्तो नयाँ निर्देशन, अब एकता टर्‍यो !

बुधबार, साउन २७ २०७८

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्ष नेपाल पक्षले निकालेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दै गर्दा एकपक्षीय रुपमा विधान महाधिवेशन गर्न खोजेको भन्दै नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन रणनीति बनाएको छ ।

अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै संशोधन गर्न खोजेपछि नेपाल पक्षले पार्टी एकताको आधार समाप्त भएको समेत जनाएको छ ।

सोमवारको स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेको ओली पक्ष भदौ २७ र २८ गते विधान महाधिवेशन गर्दैछ । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले ओली पक्षको गतिविधिले एकता सम्भावना नरहेको औंल्याएका छन् ।

ओली पक्षको एकपक्षीय विधान संशोधन र विधान महाधिवेशन लगायत क्रियाकलापले एकता जोगाउनभन्दा विभाजनउन्मुख रहेको खतिवडाले बताए । ‘केपी ओलीहरुले पार्टी विभाजन गर्ने गतिविधि रोक्नुभएन, एकताका लागि छलफल चल्दै गर्दा एकपक्षीय मनलाग्दी विधान संशोधन गर्न खोज्नुले विभाजन हुन्छ,’ उनले भने, ‘अब हामी केन्द्रदेखि स्थानीय तहसम्म पार्टीसहित जनवर्गीय संगठनको समानान्तर कमिटी बनाउँदै अघि बढने छौं ।’

स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफूपक्षीय नेतालाई देशभर पार्टीका साथै जनवर्गीय संगठनको समानान्तर कमिटी गठनसहित संगठन विस्तार गर्न आन्तरिक निर्देशन दिएका छन् । ओली पक्षका नेता प्रदीप ज्ञवालीले एकताका नाममा पार्टी गतिविधि अब रोक्न नसकिने प्रष्ट पारेका थिए ।

एकताबद्ध बनाउने नाममा पार्टी गतिविधि रोकेर कुर्नसक्ने सम्भावना नरहेको बताउँदै उनले विधान महाधिवेशन तोकिएकै समय हुने दाबी गरेका छन् । ‘पार्टी एकताका नाममा अनेक सर्त आउने र एकता नै गर्न नचाहेपछि कसरी हुन्छ ? पार्टी गतिविधि रोकेर एकताबद्ध हुँदैन, १० बुँदे सहमतिअनुसार पार्टीले निर्णय गरेर अघि बढिसकेपछि अब बैठकमा सहभागी हुनुपर्ने हो,’ उनले भने, ‘केही साथी एमालेभित्र बस्नै नचाहेकाले उहाँहरूलाई जबरजस्ती ल्याउन सकिँदैन । एमालेमै रहने र काम गर्ने विषयमा कसैलाई रोक लगाइएको छैन ।’

नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्यले १० बुँदे प्रस्तावमा आवश्यकताअनुसार परिमार्जन गर्दै ओली र नेपाल दुवैको संयुक्त हस्ताक्षर हुने गरी एकता हुनुपर्नेमा जोड दिइन् । आफूहरुको पहिलो प्राथमिकता एकता नै रहेको बताउँदै उनले ओली पक्षबाटै विभाजन शुभारम्भ भएको आरोप समेत लगाएकी छन् । ओली पक्षका नेता शेरबहादुर तामाङले एकताका लागि नेपाल पक्षलाई नपर्खिने बताएका छन् ।

एकताको नाममा पार्टी गतिविधि रोक्न नसक्ने बताउँदै उनले विधान महाधिवेशन सकेर नेतृत्व चयनका लागि १० औं महाधिवेशन मिति तोकेर अघि बढ्ने बताएका छन् । ‘विधान महाधिवेशन पनि रोकिँदैन, नेतृत्व चयनका लागि १०औं महाधिवेशन मिति तोकिन्छ,’ उनले भने, ‘पार्टी एकताबद्ध बनाउने ढोका बन्द गरिएको छैन । १० बुँदे सहमतिअनुसार पार्टी अघि बढिरहेको छ । अब एकताको नाममा धेरै पर्खेर पार्टी गतिविधि रोक्न सकिँदैन ।’ आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।