उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका झापाको मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई उद्धार गरेर नेपाल ल्याइएको छ ।
आन्द्रा दोब्रिएर पेट फुलेका कारण उपचारकालागि साउन १५ गते भारतको पश्चिम बङ्गालस्थित सिलिगुडीमा रहेको पारामाउन्ट हस्पिटलमा लगिएको थियो ।
शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि हस्पिटलले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो ।
अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतवार राति नै थप उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलमा भर्ना गरिएको छ ।
सिलिगुडीको हस्पिटलले उपचारमा लागेको ६ लाख ८ सय रुपैया भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो ।
शिशुकी आमा शर्मिला चौधरीले पारामाउन्ट हस्पिटलमा अहिलेसम्म २ लाख ८८ हजार बुझाइसकेको बताइन् । अब सो हस्पिटललाई तीन लाख १२ हजार बुझाउन बाँकी छ ।
पत्रकार मोहन काजीले १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेको बताए ।
उपचारको रकम असुल्न आमाबुवालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो हस्पिटलले गरेको पत्रकार काजीले बताए ।
गरीवीका कारण नेपालमा भइरहेको उपचारको खर्च समेत व्यहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन ।
शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दाताहरुसँग अपिल गरेकी छन् ।
तस्बिर: पत्रकार मोहनकाजीको फेसबुकबाट