काठमाडौँ l कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो खोपको पर्खाइमा बसेकाहरुले आजदेखि दोस्रो डोजको खोप पाउने भएका छन् । झण्डै १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा छन् ।
कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाइ भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
प्रदेश–१ र प्रदेश–२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश–१ र २ मा भने केही समयभित्रै खोपको मिति तोकिने गौतमले बताउनुभयो ।
भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।
खोप लगाउनका लागि काठमाण्डौमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा पनि सम्बन्धित पालिकाहरुले खोप केन्द्र तोकेका छन् ।
स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई मात्रै पहिलो खोप प्रदान गरिने बताइएको छ । अनलाइन नभरेकालाइ खोप लगाइए कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य विभागले चेतावनी दिएको छ ।
अहिलेसम्म एक करोड मात्रा खोप नेपाल आइपुगेको छ ।