आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

१० कक्षाको रिजल्ट आयो,१२ को परीक्षा रोकियो

शनिबार, साउन २३ २०७८

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई) को परीक्षाफल आज (शनिबार) प्रकाशित गरेको छ ।

जस अनुसार पाँच लाख १७ हजार १२२ जनाले परीक्षा फारम भरेकोमा चार लाख ८४ हजार २७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कोरोना भाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म / संस्थाबाट एसएमएसका माध्यमबाट र सात वटा फर्म तथा संस्थाबाट अनलाइनमा नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

 बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि. इडियु सञ्जाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

१२ को परीक्षा रोकियो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनामा भएको थियो । परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

बोर्डले आगामी श्रावण ३१ गतेबाट १२ कक्षाको परीक्षा सञ्चालन हुने भनेर सूचना निकालेको थियो । तर, कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै परीक्षा रोक्न सामाजिक सञ्जालमार्फत बोर्डलाई दवाव परिरहेको थियो । पौडेलका अनुसार कोभिडको परिस्थितिलाई आँकलन गरेर भविष्यमा अर्को निर्णय हुनेछ ।