आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रचण्डले ‘कोल्याप्स’ पारेको माधव नेपालको चिन्तन

बिहिबार, साउन २१ २०७८

काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालको चिन्तन स्खलन भएका कयन उदाहरणहरु सतहमा देखिएका छन्। प्रतिपक्षी दलमा रहेका उनी सत्ता गठबन्धनमा कायम रहेको भन्नु नै चिन्तनको स्खलन भएको कतिपयले बताउने गरेका छन्। 

उनल विहीबार केन्द्रीय कमिटीका नाममा बैठक डाकेका छन् जसलाई संस्थापन पक्षले अनधिकृत भनेका छन्। एमालेभित्र समानान्तर गतिविधि गरेका उनको राजनीतिक धरातल पनि यहि गतिमा खस्किने अनुमान गरिएको छ।

माधव नेपाल व्यवस्थापनका विद्यार्थी भएर पनि एउटा समूह र दललाई गज्जब ढंगले व्यवस्थापकीय विषयमा चुकेका नेता भएको पुराना कम्युनिस्टहरुको विश्लेषण रहेको छ। जितेर होइन, आपुतालीमा आएका पदका कारण नेता भएका उनले ऋषि धमलासँग दिएका दुईवटा अन्तरवार्ता सुनेर वैचारिक तहलाई मापन गर्न सकिने उनीहरुको बुझाई छ।

पछिल्लो पटक उनले दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘मैले केपी ओली र प्रचण्डलाई भनेको छु, माधव नेपाल नेता हो नेता, तपाईहरुको कार्यकर्ता होइन।’

त्यसअघि युगले विश्वास गर्न नसक्ने एउटा अन्तरवार्ता दिएका रहेछन्,‘उत्तर कोरियाली शासक किम जोङ अन र तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच वार्ता गराउने काममा मेरो पनि भूमिका छ।’

पहिलो त माधव नेपालले कम्युनिस्ट कार्यकर्ताको अभ्यास कति गरेका रहेछन् भन्ने प्रश्न उठ्ने बताउँछन् जानकारहरु। ‘कम्युनिस्टले नेतागिरी होइन, वर्गीय चिन्तन राखेर कार्यकर्ता अथवा आम मानिस जस्तो स्वभाविक व्यवाहार देखाउन आवश्यक हुन्छ। उनी आफूलाई नेता भन्छन् जसरी ओलीले आफूलाई ‘बा’ ठान्छन्’, एक जना पुराना कम्युनिस्ट नेता भन्छन्,‘माधव नेपालसँग चित्रबहादुर केसीको जत्तिको, नारायणमान विजुक्छे जत्तिको चिन्तन र अडान पनि नरहेको स्पष्ट देख्न सकिन्छ। यीनले संगठित पार्टी एमालेलाई धुलिसात बनाउने भए।’

एमालेका तत्कालिन महासचिव मदन भण्डारीले स्थापित गरेको बहुदलीय जनवादसहित प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई माधव नेपालले स्खलन बनाएको संश्लेषण हुन थालेको छ। महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित भएर अहिले बराबर अधिकार माग गर्नु अवैधानिक सर्त रहेको बताइन्छ। 

‘१५ बर्षसम्म महासचिव हुँदा उनले कसलाई बराबर अधिकार दिएका थिए? पार्टी कमिटीका बैठकमा आफूविरोधीलाई कसरी खरानी बनाएका थिए भन्ने सोच्नु पर्दैन?’,स्रोतले भन्यो,‘ओलीले ठिकै भनेका हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुच्छरभन्दा माथि नेपालको राजनीति अहिले देख्न सकिएन।’

माधव नेपालको वैचारिक चिन्तनलाई अडानको फुस्रो प्रशंशाका आधारमा प्रचण्डले कोल्याप्स पारेको धेरैको बुझाई छ। ‘त्यसैले त दोस्रो तहका नेताले पनि उनको साथ छाड्न थालेका छन्। उनीहरु ओलीसँग मिलेका होइनन्, भोली ओली नरहँदा पनि जीवित रहने एमालेको बचाउमा लागेका छन्’, स्रोतले भन्यो।