आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री देउवाले किन सचिवालय विस्तार नगरेका हुन् ?

सोमबार, साउन १८ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त भएको तीन सातासम्म पनि सचिवालय विस्तार नगर्दा प्रशासनिक काममा समस्या भएको छ।

गठबन्धनका तर्फबाट प्रधानमन्त्री भएका उनले मन्त्रिपरिषदलाई पनि पूर्णता दिन सकेका छैनन्। यस्तै नेपाली कांग्रेसका तर्फबाट पनि कुनै मन्त्री थप्न नसकेका देउवाको सचिवालय नहुँदा प्रधानमन्त्री कार्यालय र निवासमा समन्वयमा विभिन्न निकायलाई समस्या परेको बताइन्छ।  

मन्त्रीका लागि नाम पठाउन प्रधानमन्त्री देउवाले बारम्बार भने पनि सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले निर्णय नगर्दा मन्त्रिपरिषद विस्तार हुन नसकेको हो।

कतिपयले मन्त्रिपरिषद र सचिवालय सँगै विस्तार गर्ने मुडमा प्रधानमन्त्री देउवा रहेको बताउँछन्। हाल प्रधानमन्त्री देउवाको सचिवालयमा भानु देउवाले उनको नीजि सचिवको काम गरिरहेका छन् भने मिडियादेखि अन्य क्षेत्रको संयोजमा अनौपचारिक रुपमा गोविन्द परियारले सहयोग गरेको बताइन्छ। 

सचिवालयमा जानका लागि धेरै जनाको दरखास्त परेका कारणले पनि अहिलेसम्म विस्तारमा समस्या आएको देउवा निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्री नियुक्त भएपछि उनले सरकारी वकिलका रुपमा महान्यायाधीवक्तामा खम्बहादुर खातीलाई नियुक्ति गरिएको छ भने योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त भएका छन्।

अन्य सल्लाहकारदेखिका नियुक्ति बाँकी रहेको छ। स्रोतका अनुसार यो साता देउवाले सचिवालयलाई भने पूर्णता दिनेछन्।