काठमाडौं l चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव नेपाली सेनाका हुद्दाको रहेको खुलेको छ।
मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको खुलेको प्रहरीले जनाएको छ। उनी नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत रहेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर केसीले जानकारी दिए।
गुरूङको एकापट्टि कान नजिकैबाट हानिएको गोली अर्को कानभन्दा माथिबाट निस्किएको प्रहरीले जनाएको छ। केही दिन अगाडि जग्गा सम्बन्धी कारोबारका लागि उनी चितवन गएर आफन्तको घरमा बसिरहेको खुलेको छ।
मृतकको शव भरतपुर अस्पतालको शव गृहमा पोस्टमार्टमका लागि राखिएको छ। प्रहरीले घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनकै गणका सिपाही हत्या आरोपमा पक्राउ
नेपाली सेनाको आफ्नै गणका हुद्दा भरत गुरुङलाई गोली हानेर हत्या आरोपमा ‘दि फेमस महिन्द्र दल गण’का सिपाही गंगाधर ढकाललाई चितवन प्रहरीले पक्राउ गरेको छ । यो गण हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ छ ।
चितवन प्रहरीले आरोपित गंगाधर ढकालबाट एसएमजी हतियारसहित मोटरसाइकल बरामद गरेको छ ।
बिहीबार बिहान भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा खेत नजिक धादिङ निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय भरतको शव फेला परेको थियो ।
टाउकोमा गोली लागेको जस्तो घाउ देखिन्थ्यो । आडैमा एउटा खोका पनि थियो । ‘त्यसैले हामीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढायौं । त्यसमा संलग्न भएको देखिने एकजना व्यक्ति गंगाधर ढकाललाई बिहीबार नै हामीले समायौं,’ घटनाका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । प्रहरीले एसएमजी हतियारसमेत बरामद गरेको छ ।