आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेस नेतृत्वको सरकारमा ६ जना मन्त्रीले लिए शपथ

शुक्रबार, साउन ८ २०७८

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार ६ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

थपिने मन्त्रीमध्ये कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, नेकपा माओवादी केन्द्रका रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भूसंरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नवनियुक्त मन्त्रीलाई शुक्रबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नेपालीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराइन्।
शपथग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोला, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, प्रदेश सरकारका सचिवलगायत सहभागी थिए।