बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेमा अब ओलीको उत्तराधिकारी को ?

बुधबार, साउन ६ २०७८

काठमाडौँ l नेकपा एमालेको दुईपक्षीय विवादमा दुवैतिरका केही नेता एक्लाएक्लै दौडिन थालेपछि अर्को असन्तुष्टि प्रकट भएको छ । वरिष्ठ नेता माधव नेपाल खेमाको खम्बा मानिएका उपाध्यक्ष भीम रावलको अप्रत्यासित संस्थापनतर्फको झुकावलाई उतैका एकथरिले मन नपराएपछि विवादमा नयाँ ट्वीष्ट आएको दाबी गरिएको छ ।

ओलीको उत्तराधिकारीको दौडमा रहेका महासचिव ईश्वर पोखरेल नेता रावलको संस्थापनसँगको निकटताप्रति आशंकित रहेको जानकार स्रोत बताउँछ । खासगरी,रावललाई अध्यक्ष केपी ओलीले कार्यवाहक अध्यक्ष दिने बतासे आश्वासन दिएको हल्ला पत्याएर पोखरेल विचलित बनेको र त्यसैका कारण लामो समयदेखिको अन्तरकलह झनझन कचल्टिदै गएको उक्त स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री छँदै ओलीले बालुवाटारमा पोखरेलबाहेक भीम रावल,सुवास नेम्वाङ्ग र विष्णु पौडेललाई राखेर राती छलफल गर्नुभएको थियो । उक्त भेटमा भावी नेतृत्वबारे छलफल हुँदा ओलीले ‘तपाईंहरुमध्यको एकजना उत्तराधिकारी हो,तपाईंहरुले नै मिलाउनुस्’ भन्नुभएको थियो । उपाध्यक्षसमेत भएकाले आफूपछिको नेतामा रावललाई अघि सार्ने संकेत ओलीबाट आएपछि लामो समयदेखि ओली खेमामै राजनीति गरेर भोटो फटाएका नेताहरु असन्तुष्ट बनेको बताइन्छ ।

त्यसो त,केही दिनअघि आफ्नो निवासमा महासचिव पोखरेलले व्यक्त गरेको असन्तुष्टिलाई पनि ओली-रावल वार्तासँग जोडेर हेरिएको छ । बताइएअनुसार महत्वपूर्ण विषयमा पनि आफूलाई सामान्य सोधनीसमेत नगरेकोमा पोखरेलको ओलीप्रति चर्को गुनासो छ ।

यता,अस्ति प्रतिनिधिसभामा ओली स्वयमले बोल्नुपर्ने उहाँनिकट नेताहरुकै सुझाव थियो । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भएकाले निवर्तमान प्रधानमन्त्रीका रुपमा ओलीले नै सम्बोधन गर्ने बाहिर पनि अनुमान थियो । तर,उहाँले सम्बोधन गर्नुभएन । आफ्नो विकल्पमा सिनियर नेताको पंक्ति हुँदाहुँदै प्रदिप ज्ञवालीलाई अघि सार्नुभयो । महासचिव पोखरेल,दलका उपनेता सुवास नेम्वाङ्ग,विष्णु पौडेललाई छेकेर ज्ञवालीलाई बोल्न दिएपछि ओली समूहभित्र अन्तरविरोध अझै बढेको बताइन्छ ।

ओलीले बोलाएको बैठकमा गएर ‘म अब सधैँका लागि आएँ’ भन्दै भाषण गर्नुभएका उपाध्यक्ष वामदेव गौतम पनि पछिल्लो समय ओलीसँग रुष्ट बनेको बुझिएको छ । पार्टी विवाद समाधानका लागि आफूलाई जिम्मा दिने भनेर ओलीले धोका दिएको गुनासो उहाँले अर्कोतिर सुनाएको बताइन्छ ।

यता,भीम रावलले नेपाल समूह छोडेको हल्ला चलाइएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने आफ्नो अडानमा माधव नेपाल सहमत नभएपछि रावलले सांसद पदबाट राजीनामा दिनुभयो । अस्तिको केन्द्रीय कमिटी बैठकमा ओलीले रावललाई राजीनामाको निर्णयबाट फिर्ता हुन आग्रह गर्नुभएको छ । पछिल्ला केही दिनयता सतहमा देखिएका यी घटनाक्रमले पनि एमाले विवाद थप कचल्टिएको सहजै अनुमान गर्न सकिन्छ । जनाआश्था साप्ताहिकमा खबर छ l