काठमाडौँ l देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापिय रेखा नेपाल तराई भू–भाग नजिक रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।