काठमाडौँ l विश्व महामारीको चरम रुपमा फैलिएको कोरोना महामारीको पराकाष्ठा पार भै सक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सस्तो लोकप्रियता र राजनीतिक खिचातानीमा वेस्त भएको छ l
खोप सरकारको प्राथमिकतामा रहेको भनेर देउवाले प्रतिनिधिसभामा पहिलोटक भनेका होइनन् । प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा सरकारको प्राथमिकता खोप–खोप र खोपमात्रै रहेको सुनाए। प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ पनि उनले कोरोना खोप सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए।
दुई वर्षदेखि कोरोना महामारीसँग जुधिरहेका नेपाली जनताले सरकारसँग धेरै अपेक्षा पनि गरेका छैनन्। देउवाले भनेजस्तै नागरिकको प्राथमिकता पनि कोरोनाविरुद्धको खोप नै हो, अहिले। आपूर्ति, व्यवस्थापनका साथै प्रदेशसम्म खोप पुर्याउने प्रमुख संस्था स्वास्थ्य मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा छ। झन्डै साढे दुई वर्षपछि सचिव पाएको स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउन अरू कति दिन कुर्नुपर्ला हेर्नैपर्ने हुन्छ।
खोपलाई पहिलो प्राथमिकता बताइरहे पनि प्रधानमन्त्रीमा नियुक्त भएको एक साता बितिसक्दासम्म देउवाले स्वास्थ्यमन्त्री नियुक्त गर्न सकेका छैनन्।