आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

स्वास्थ्यमा गगनको चर्चा !

मंगलबार, असार २९ २०७८

काठमाडौं । सभापति शेरबहादुर देउवा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् ।

मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । स्रोतका अनुसार उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् ।

आज बिहानै महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरु पनि देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । देउवा निवासमा बिहानैदेखि कांग्रेस नेताहरुको भीड छ ।

स्रोतका अनुसार आज नै संस्थापन पक्षबाट बालकृष्ण खाँणलाई मन्त्री नियुक्त गर्ने सम्भावना छ । कांग्रेस नेताहरुले स्वास्थ्य मन्त्रीमा गगन थापालाई दोहोर्याउन सुझाव दिएका छन् ।

कोरोना महामारीको समयमा अघिल्लो सरकारको भन्दा देखिने गरी काम गर्नुपर्ने चुनौती र यसअघि स्वास्थ्य मन्त्री भइसकेकाले बुझाइ पनि स्पष्टता रहेको भन्दै कांग्रेस नेताहरुले थापालाई स्वास्थ्यमन्त्री बनाउँदा उपयुक्त हुने सुझाव दिएका थिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले सम्बोधनको तयारी गरेको भए पनि समय तय नभइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् ।

नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ । तर बैठक बस्ने नबस्ने अहिलेसम्म एकिन भएको छैन।

यता नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक नेताले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् ।