बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना नेप्सेको अधिकार कटौति गर्दै, ब्रोकर नियुक्तीमा हालीमुहाली गर्नेगरि कानुन संसोधनको तयारी

आइतबार, असार २७ २०७८

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले एक पछि अर्काे आर्थिक लाभ हुने खालका कामहरु गर्न थालेका छन् । बैंकलाई ब्रोकर लाइसेन्स बाड्ने कामलाई थाति राखेर फेरी अहिले नेप्सेले परिक्षा लिएर ब्रोकर नियुक्ती गर्ने प्रक्रिया हटाउँदै आफै नियुक्त गर्नेगरि काम अघि बढाउन थालेका छन् ।

धितोपत्र बोर्डले नेपसेको अधिकार कटौति गर्न लागेको छ । बोर्डले नेपाल स्टक एक्सचेन्जको अधिकार कटौति गर्दै सोझै ब्रोकर नियुक्त गर्नेगरि धितोपत्र व्यवसायी ( धितोपत्र दलाल तथा धितोपत्र व्याापारी ) नियमावली २०६४ संसोधन गर्न लागेको हो । यसअघि जाच लिएर ब्रोकर सिफारिस  गर्ने गरिएकामा बोर्डले सोझै लाइसेन्स दिनेगरि नियमावली संसोधन गर्न लागेको हो ।

नियमावली संसोधन भएसँगै ब्रोकर नियुक्तीमा नेप्सेको कुनै भूमिका रहनेछैन । तर, धितोपत्र बोर्डको भने यसमा हालीमुहाली बढ्नेछ ।

धितोपत्र व्यवसायी ( धितोपत्र दलाल तथा धितोपत्र व्याापारी ) नियमावली २०६४ को  तेस्रो संसोधनमा ब्रोकरले लाइसेन्स लिने क्रममा नेपाल स्टक एक्सजेन्जको सिफारिस चाहिने उल्लेख छ । नेप्सेले यस्तो सिफारिस आवेदन आएका भरमा नभई जाँच लिएर पास भएकाहरुलाई मात्रै सिफारिस गर्ने गरेको छ।

तर, अब बोर्डले भने यस्तो जाँच आवश्यक नभएको भन्दै हटाउन सुरु गरेको जसका लागि बोर्डको बुधबारको बैठकमा प्रस्ताव राखिएको थियो । तर, अधिकांश बोर्डका सञ्चालकले यस्तो उचित नहुने भन्दै फेरी थप गर्न भन्दै फिर्ता गरिदिएका छन् । यसअघि २०६४ सालमा २७ वटा ब्रोकर थप गरिएको थियो । त्यतिबेला नेप्से ब्रोकरहरुको परिक्षा लिएर उत्कृष्टहरुलाई बोर्ड समक्ष सिफारिस गरेको थियो ।

 बजार सञ्चालकको अधिकारलाई बजार नियामक  निकायले हस्तक्षेप गर्न नहुने र यो अन्तर्राष्ट्रिय मान्यता विपरित भएको बिज्ञहरुको भनाई छ ।

कारोबार बढिरहेकाले ब्रोकरको संख्या थप्नु पर्ने भएको छ । तर,धितोपत्र बोर्ड पब्लीक कम्पनीलाई भन्दा पनि निजी कम्पनीलाई लाइसेन्स बाड्ने योजनामा छ । उसले  बाणिज्य बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया  रोकेर निजी क्षेत्रमा दिने बताइरहेकै बेला फेरी लाइसेन्स पनि आफैले बाड्नेगरि नियामावली संसोधनको काम अघि बढाएपछि यसमा आर्थिक चलखेल हुने हो कि भन्ने धेरैको आशंका छ ।

नेप्सेले बजार सञ्चालन गरिरहेको छ । नेप्से बजार सञ्चालक मात्रै नभएर ब्रोकरहरुको नियामक निकाय पनि हो ।  बजार सञ्चालनका क्रममा कुन उपयुक्त हुने र कुन नहुने भन्ने बारे नेप्सेलाई जानकारी हुन्छ ।

भोलीका दिनमा बोर्डले नियुक्त गरेका ब्रोकरहरुमा समस्या आएमा नेप्सेले के कसरी कार्वाहि गर्ला भन्ने पनि प्रश्न उठ्छ ।