काठमाडौं । एकताको खिचडी पाक्दै गर्दा नेकपा एमालेका नेता माधवकुमार नेपाल विलखवन्दमा परेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राखेका माग सम्बोधन हुने हो कि भन्ने झिनो आशा पालेर बसेका नेपाललाई पाँच दलीय विपक्षी गठबन्धनका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँखा तरेपछि संकट आईपरेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले वार्ताका नाममा झुलाएर हिस्स पो पार्ने हुन् कि भन्ने एकातिर चिन्ता छ भने मिल्न लागेका बेला नैतिक प्रश्न उठाएर देउवा र प्रचण्डले हिस्स पो पार्न खोजेका हुन् कि भन्ने अर्को चिन्ताले नेता नेपाललाई विलखवन्दमा पारेको बताईन्छ । तर नेपालले यतिन्जेल विपक्षी गठबन्धनका सहयात्रीलाई कुनै ठोस जवाफ पनि नदिएका र ओलीसँगको राजनीतिक सौदाबाजी पनि नत्यागेको बुझिएको छ ।
यता प्रधानमन्त्री ओली पक्ष भने देउवा र प्रचण्ड एमालेको सम्भावित एकता भाँड्न सक्रिय भएको भनी सतर्क देखिन्छ । शनिबार बिहान प्रचण्ड कोटेश्वरस्थित नेपाल निवास पुगेपछि एमालेको ओली पक्ष निकै चनाखो तरिकाले वार्ता अघि बढाईरहेको देखिन्छ । दुइ पक्षीय वार्ता टोलीको नेपाल पक्षले सहमति पत्रको मस्यौदा टुंग्याउन आनकानी गरेपछि ओली पक्षीय टोली सतर्क भएको बुझिएको छ । नेता नेपाललाई जनै खटिरा आएकाले प्रचण्ड भेट्न कोटेश्वर पुगेका भनेर भेटघाटलाई आशंकाको बिषय नबनाउने प्रयाश पनि भैरहेको देखिन्छ ।
यता वार्ता टोलीले आजै साँझसम्ममा आफ्नो काम सकेर नेताहरुलाई बुझाउने प्रयाश गरिरहेको वार्ता टोलीका एक सदस्यले बताएका छन् । यता ओली पक्षका कतिपय नेताले एमालेलाई भत्काउन देउवा र प्रचण्ड सक्रिय भएको अर्थ लगाउँदै उनीहरुले नेता नेपालको समूहलाई कब्जामा लिएर एमाले एकता अवरुध्द पार्न चाहेको आरोप लगाईरहेको छ ।
एमालेमा शनिबार एकता घोषणा हुने बताईएको थियो । तर, शनिबार बिहान प्रचण्डले माधव नेपाललाई कोटेश्वर पुगेर भेट्नुभएपछि एकता प्रक्रियामा अवरोध ल्याउन खोजिएको आशंका गरिएको छ । माधवलाई भेटे लगत्तै प्रचण्ड बुढानिलकण्ठ देउवा निवास पुगेका थिए ।