बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वएसपीले ब्रेकको ठाउँमा एक्सिलेटर दबाउँदा…

शनिबार, असार २६ २०७८

नेपाल प्रहरीका अवकाशप्राप्त उपरिक्षक अर्थात् एसपी मायाहजुर शाहले मंगलबार राति धुम्बाराही पिपलबोट हुँदै धुम्बाराही ओरालो र चक्रपथमा तहल्का मच्चाएका छन् । शाहले बा.१० च ४७५५ नं को निजी कार जथाभावी हुर्ईंकाएर सडकमा आतंक मच्चाएको स्थानीयवासीले बताए ।

उनले जथाभावी हुईंकाएको कार ठोक्किएर धुम्बाराही पिपलबोट, त्यसपछिको ओरालोदेखि सरस्वती नगरसम्मका केही पसलमा भौतिक क्षति भएको छ भने बाटोमा हिँडेका सर्वसाधारणसमेत घाइते भएका छन् ।

 

धुम्बाराही पिपलबोटस्थित एक जना भूतपूर्व डिआईजीको घरबाट साँझ पौने ८ बजेतिर निस्केका उनले नजिकैको मासु पसलमा आफू चढेको गाडी सोझै लगेर जोतेका थिए । मासु पसलको सटर बन्द भएकाले भित्रका मानिस जोगिएको बताइन्छ ।

जथाभावी हुँईंकाएको गाडीले सडक किनारामा हिँडेकालाई समेत ठक्कर दिने र लतार्ने गरेको थियो । सबैभन्दा पहिले उनले ओरालोमा हिँडेका एक जना पुरुषलाई ठक्कर दिएका थिए ।

त्यति वितण्डा मच्चाएपछि शाह गाडीमा सुईंकुच्चा ठोक्दै चाबहिल सरस्वती नगरस्थित घर पुगेर केही बेर सम्पर्कविहीन भएको पीडितहरूले आरोप लगाएका छन् । उनीहरूले शाहले मदिरा सेवन गरेर गाडी चलाएको आरोपसमेत लगाए ।

तर,शाहलाई नजिकबाट चिन्नेहरूका अनुसार उनले सोमरस मुखमा नहालेको एक जुग भएको छ । बाह्र वर्षअघि ढाडको अपरेशन गरेपछि उनी राम्ररी खुट्टा नटेक्ने हालतमा थिए । मधुमेह र उच्च रक्तचापबाट पीडित शाहले ढाडको अपरेशनपछि मदिरापान गर्न छाडेको बताइन्छ ।

धुम्बाराहीको ओरालोमा ब्रेक थिच्न खोज्दा खुट्टाको गडबडीले एक्सिलेटर थिचेको कारण उक्त दुर्घटना भएको उनको दावी छ । दुई वटै गोडा असन्तुलित भएको मान्छेले भूलवशः एक्सिलेटर थिच्दा उक्त घटना भएको शाहले बताएका छन् । भोलिपल्ट दुर्घटनास्थलमा गएका उनलाई स्थानीयले ‘हिजो किन भागेको ?’ भनेर सोध्दा शाहले स्थानीयले छोपेर कुट्ने डरले आत्तिएर आफू भागेको,भाग्दा गोडा असन्तुलित भएर अन्यत्र पनि ठोक्किएको बताएका थिए ।

बुधबार बिहान सबेरै घटनास्थल पुगेका शाहले सबै पीडितसँग माफी माग्दै सटर बनाउन ४० हजार रुपैयाँसमेत दिएका छन् । मोटरसाइकलको लेग गार्डमा ठोकिएकालाई नयाँ लेग गार्ड किन्न ६ हजार रुपैयाँ दिएका छन् । जनआस्था साप्ताहिकमा खबर छ l