काठमाडौं । नेकपा एमाले अहिले आन्तरिक विवादमा फसेको छ । साविक नेकपा खारेज भएपछि व्यूँतिएको एमाले आन्तरिक विवादमा फस्नुको धेरै कारण मध्ये एक माओवादीबाट आएका नेताहरुको व्यवस्थापन पनि हो ।
माओवादीबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टराई, गौरी शंकर चौधरीसहितका नेताहरु केपी शर्मा ओलीलाई साथ दिँदै एमालेमा आवद्ध भए । तर, उनीहरुलाई एमालेकोभन्दा माओवादीको चिन्ता बढी लागेको देखिन्छ । छाडिसकेको माओवादीको वैधानिकता खोज्दै उनीहरु निर्वाचन आयोग धाइरहेका छन् ।
एमालेको आन्तरिक विवाद समाधानमा चुइँक्क नबोलेको उनीहरु आफूले छाडेको माओवादीको वैधानिकता खोज्दै आयोग धाइरहेका हुन् । एमाले प्रवेश गरेपछि माओवादीको कारबाहीबाट प्रतिनिधि सभा सदस्य र मन्त्री पद गुमाएका नेताहरु अहिले माओवादीको वैधानिक खोजेर हिँडेका हुन् ।
आफू एमालेमा रहेर अरुको पार्टीको वैधानिकता खोज्ने बादलसहितका पूर्वमाओवादी नेताहरुको व्यवहार माओवादीमा फर्कन गरेको बार्गेनिङको रुपमा लिएका राजनीतिक अड्कलबाजी हुन थालेको छ ।
माओवादी त्यागेर रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरीसहितका नेता एमालेमा रहे । एमालेमा गएपछि उनीहरुलाई प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यसहित पार्टीको साधारण सदस्यबाट माओवादीले हटायो । र चुपचाप एमालेमै रहेर बसेका थिए ।
तर, अदालतको आदेशपछि बादल, रायमाझी, साहसहितका नेताहरुको मन्त्री पद खुस्कियो । कुनै पनि लाभको पदमा नरहेको र एमालेभित्र पनि उनीहरु संकुचनको अवस्थामा रहेका भनिएका बेला बुधबार थापा बादल समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेसहितका नेताहरुले निर्वाचन आयोग पुगेर माओवादीको दल दर्ता खारेजको माग गर्दै निवेदन दिएका हुन् ।