आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बिकास खर्च गर्ने दिन अब ६ दिन बाँकि, १ खर्ब ८१ अर्ब रकम खर्च गर्न बाँकि !

बिहिबार, असार २४ २०७८

काठमाडौं । सरकारले मंगलबारसम्ममा जम्मा १ खर्ब ७१ अर्ब रकम खर्चेको छ । जबकी सरकारले यो वर्षका लागि बिकास निर्माणका लागि भनेर जम्मा ३ खर्ब ५२ अर्ब रकम छुट्टाएको छ । अर्थात चालु आर्थिक वर्षका अब ८ दिन मात्रै बाँकि रहदासम्म सरकारको खर्च हुन बाँकि रकम १ खर्ब ८१ अर्ब छ ।  

महालेखा नियन्त्रक कार्यालयका अनुसार मंगलबारसम्ममा ४८ दशमलव छ नौ  प्रतिशत मात्रै रकम खर्च भएको छ। तर चालु तर्फ भने सरकारले ८५ दशमलव पाँच  पाच प्रतिशत रकम खर्चेको छ ।

कर्मचारीको तलब तथा भत्तामा खर्च हुने रकम उल्लेख्य मात्रामा बढाएको  सरकारले बिकास निर्माणका लागि भने अहिलेसम्म आधा  रकम पनि खर्च गर्न सकेको छैन ।

 सरकारले चालु आर्थिक वर्षका लागि ९ खर्ब ४८ अर्ब चालु खर्च भनेर छुट्टाएकोमा अहिलेसम्म  ८ खर्ब रकम खर्चिसकेको छ  ।

बिकास निर्माणका काम अघि बढाउन नसक्ने सरकारलाई आम्दानी भने राम्रो प्राप्त भएको छ ।

सरकारले मंगलबार सम्म आठ खर्ब ६१ अर्ब अर्थात लक्ष्यको ८५ प्रतिशत बराबरको राजस्व उठिसेको छ।  कोभिडले आर्थिक गतिविधि सुस्त हुँदा पनि राजस्व भने लक्ष्यको हाराहारीमै उठेको छ । 

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष ४ खर्ब ५० अर्ब ३४ करोड रुपैयाा कर संकलनको लक्ष्य लिएको थियो । जेठसम्म लक्ष्यको ८० प्रतिशत अर्थात ३ खर्ब ७८ अर्ब ४८ करोड रुपैयाा संकलन गरेको छ । उसले वैशाखमा ३३ अर्ब ९९ करोडको लक्ष्य लिएकामा ३२ अर्ब ४८ करोड उठायो ।

वैशाख तेस्रो सातादेखि काठमाडौं लगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेकाले राजस्व असुली प्रभावित भयो । वैशाख महिनामा आयकर लक्ष्यभन्दा २२ करोड बढी अर्थात ७ अर्ब ५० करोड उठेको थियो । तर जेठमा भने विभागले लक्ष्यको आधा मात्र उठाउन सक्यो । यो महिनामा उसले ३३ अर्ब कर संकलनको लक्ष्य लिएकामा १७ अर्बभन्दा बढी उठाउन सकेन । कर बुझाउने म्याद थपेको र आर्थिक क्रियाकलाप पनि बढ्न थालेकाले असार मसान्तसम्म लक्ष्य भेट्टाउने विभागका अधिकारीको दाबी छ । 

भन्सार राजस्व जेठ मसान्तसम्म लक्ष्यको ८६ प्रतिशत संकलन भएको छ । असार मसान्तसम्म ४ खर्ब ६२ अर्ब २६ करोड उठाउने  भन्सार विभागको लक्ष्य हो । उसले अहिलेसम्म ४ खर्ब १ अर्ब उठाएको छ । गैर कर राजस्व ९८ अर्ब ८० करोड उठाउने लक्ष्य रहेकामा त्यसको आधा पनि उठेको छैन ।

कर बुझाउने म्याद थपेको र संक्रमणदर पनि घट्दै गएकाले लक्ष्य पूरा हुने  देखिन्छ । तर महामारीले प्रभावित करदातालाई सरकारले छुट र राहत भने दिएको छैन ।