बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्र खारेजीको माग लिएर पूर्वमाओवादी नेता पुगे निर्वाचन आयोग

बुधबार, असार २३ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरीका साथै नेकपा माओवादी केन्द्र दल दर्ता खारेजी माग गर्दै निर्वाचन आयोग गएका छन् ।

पूर्वमाओवादी टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको हो । ‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन’, पूर्वमाओवादी नेता प्रभु साहले भने, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’

बादलसहितको निवेदन लिएर नेताहरु लीलबहादुर थापा र दिनेश पन्थीलगायतका नेताहरु आयोगमा पुगेका हुन्। संविधानत: हरेक ५ वर्षमा दलको महाधिवेशन भइसक्नुपर्ने हुन्छ। माओवादीले मकवानपुरको हेटौँडामा २०७१ सालमा महाधिवेशन गरेयता संगठनको नेतृत्व हेरफेरका लागि अर्को महाधिवेशन गरेको छैन। माओवादी नेतृत्वमा पनि करिब ३२ वर्षदेखि पुष्पकमल दाहाल प्रचण्ड नै अनवरत अध्यक्ष रहँदै आएका छन्। 

माओवादीले महाधिवेशन तयारी गर्दै गर्दा २०७५ जेठ ३ गते एमालेसँग एकीकरण भएको थियो। यी दुई दल मिलेर बनेको नेकपा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट खारेजीमा परिसकेको छ। 

नेकपा खारेज भएपछि तत्कालीन अवस्थामा ओली समूहमा लागेका माओवादीका नेताहरु एमालेमै बसेका थिए। उनीहरुलाई माओवादीमा फर्काउने पटक पटकको प्रयास सफल हुन सकेको थिएन।