आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

साउन देखि विदेशबाट ल्याउने मोबाइल यसरी गर्नुहोस् आईएमईआई दर्ता, नत्र चल्दैन

मंगलबार, असार २२ २०७८

काठमाडौँ l साउन १ गतेदेखि नेपाल भित्रिने सबै मोबाइल अनिवार्य रजिस्टर्ड गर्नुपर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ देखि नेपाल भित्रिने मोबाइल दर्ता नभए नेपालभित्र नचल्ने बताएको हो। 

प्राधिकरणले धेरै वर्षदेखि मोबाइलको दर्ता गर्नुपर्ने बताउँदै आए पनि विभिन्न कारण देखाउँदै उक्त व्यवस्था लागू गर्नसकेको छैन।सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याइने उल्लेख गरेको छ। 

यसले अवैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउनुका साथै मोबाइलको प्रयोग गरी हुने आपराधिक गतिविधि समेत नियन्त्रण हुने सरकारको दाबी छ। मोबाइल सेटको आयात, बिक्रीवितरण तथा प्रयोगलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमसम्बन्धी विनियमावली २०७५ बनाइसकेको छ। 

त्यसअनुरुप मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको विकास, जडान तथा सञ्चालनको लागि प्राधिकरणले अवैधरूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि न्युमेरा (एम) एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि र नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको थियो।

यसरी दर्ता गर्नुहोस् आईएमईआई नम्बर

हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ लाई आईएमईआई नम्बर भनिन्छ । हरेक मोबाइलका साथै सिम सल्टका आधारमा आईएमईआई नम्बर फरक हुन्छ । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्नेमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । मोबाइलको कभर राखिएको स्टिकरमा पनि आईएमईआई नम्बर लेखिएको हुन्छ । कभरमा आईएमईआई नम्बर देखिएन भने स्टार ह्यास ०६ ह्यास डायल गर्दा पनि मोबाइलमा आईएमईआई नम्बर देखाउँछ ।

आईएमईआई नम्बर दर्ता गर्न दूरसञ्चार प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ । वेवसाइटमा रहेको आईएमईआई÷ईएसएन÷एमईआईडी मा गएर आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । प्राधिकरणका अनुसार आईएमईआई नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

हाल आईएमईआई नम्बर दर्ता गर्ने लिंक खुल्दैन । प्रवक्ता पौडेलका अनुसार प्राधिकरणको वेवसाइटमा उच्च ट्राफिक भएकाले नखुल्ने समस्या देखिएको छ । यो समस्या हल गर्नका लागि प्राधिकरणले आफ्नो सिस्टमलाई अन्यत्र सार्ने तयारी गरेको छ । साउन १ गतेदेखि साइट नखुल्ने समस्या नआउने उनको दाबी छ ।