काठमाडौं l संसद् विघटनविरुद्ध परेको मुद्दामा अन्तिम बहसस्वरुप एमिकस क्युरीमा रहेका अधिवक्ताहरुले अहिले आफ्नो राय पेश गरिरहेका छन् । एमिकस क्युरी उषा मल्ल पाठकले संसद् विघटन संविधान अनुसार नै भएको दावी गरेकी छन् । उनले अबको विकल्प चुनावमै जानु भएको पनि राय दिएकी छन् । नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दावी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको बताइन् ।
त्यस्तै धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले गरेको संसद् विघटन पनि संविधानसम्मत रहेको उनको दावी छ । ‘अहिलेको अवस्थामा मुलुकलाई निकास दिन एकमात्र विकल्प चुनाव हो । त्यसकारण रिट निवेदन खारेज हुनुपर्छ र चुनावमा जानुपर्छ’ उनले भनिन् । संविधानमा धारा ७६(५) को प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार भनी कुनै पनि विषय किटान नगरेकाले यो राष्ट्रपतिको स्वविवेकमा हुने निर्णय भएको वरिष्ठ अधिवक्ता पाठकले बताइन् ।
उनले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्ने भन्दै निर्वाचन मितिलाई ध्यानमा राखी त्यसअगावै बालिग नागरिकलाई खोप लगाउने आदेश दिन माग गरिन् । उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनैपर्ने व्यवस्था संविधानमा नभएको जिकिर गरिन् । यसअघि राय दिएका अधिवक्ता वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रधानमन्त्रीले असंवैधानिक तरिकाले संसद् विघटन गरेको बताएका थिए ।