काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
सोमवार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उनले हतियार हस्तान्तरण गरेका हुन् । उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन विसं २०७९ वैशाख महीनासम्ममा हस्तान्तरण गरिने नेपाली सेनाले बताएको छ ।
उपलव्ध गराईएका हतियारहरुको मर्मत तथा अप्रेशन तालिमसमेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ । यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास लिएको नेपाली सेनाले बताएको छ ।
सरकारको गत जेठ १७ गतेको निर्णय बमोजिम नेपाली सेनाले प्रहरीलाई कुनै पनि मूल्य नलिइ विभिन्न प्रकारका राइफल र मेशिन गनहरु जम्मा १० हजार ८१८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ गोटा उपलव्ध गराउने छ ।