आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

आइतबार, असार २० २०७८

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ दिपज्योतीस्थित सडकमा बा.२ क ३४६६ नम्बरको टिपरले प्रदेश–०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा  मोटरसाइकल चालक टोखा नगरपालिका–९ बानियाटार डेरा गरी बस्ने नुवाकोट बेलकोट नगरपालिका–६ घर भएका २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दिपेश थापा रहेका छन् । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको शान्तिनगर गाउँपालिका–७ खैरेनीस्थित सडकमा रा.१ त १९३१ नम्बरको ट्याक्टर पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 
स्याङजाको चापाकोट नगरपालिका–१ गैरीथरस्थित सडकमा लु.२० प ३९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय राजु गैरेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।