काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ टिकाभैरवस्थित भैंसे खोलामा अबिरल बर्षाको कारण बिहीबार बिहान पहिरो जाँदा कान्ती लोकपथ अवरोध भएको छ ।
मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटस्थित झापा मोरङ जोड्ने रतुवा खोलामा बनाएको पुल बिहीबार साँझ पानीले माटो कटान गर्दा सवारी आवगमनमा अवरोध भएको छ ।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका–१० भैसाखोरीस्थित पूर्व–पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन अविरल वर्षाको कारण पानी भरिन गई बिहीबार बिहान भत्किँदा राजमार्ग अवरोध भएको छ ।
चितवनको ईच्छाकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिन सडकको चारकोलो र पाँचकिलो भन्ने स्थानमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । यसैगरी चितवन कै ईच्छाकामना गाउँपालिका–७ हरिपुर खोलास्थित जखडीमाई–सिमलधाप जोड्ने निर्माणाधिन पक्की पुल अविरल वर्षाको कारण बिहीबार दिउँसो आएको बाढीले बगाउँदा पूर्णरुपमा क्षति भएको छ । बाजुराको बुढीगंगा नगरपालिका–२ ताप्रीसेरा देखी सोही नगरपालिका–६ बार्जुगार्डसम्म बिभिन्न स्थानमा बिहीबार बिहान पहिरो जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ ।
पहिरोका कारण अवरोध भएको सडक खुलाउन नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक पहल गरिरहेको छ ।