काठमाडौं– नेकपा एमाले ब्युतिएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी गठन गर्दा केन्द्रीय कमिटी भंग गरेको घोषणा गरेका थिए। त्यसबेला सबै पदाधिकारी निस्क्रिय भए। तर, फेरि २ फागुन ०७५ कै अवस्थामा फर्किएपछि संरचनाहरु पुरानै अवस्थामा फर्किएपछि एमालेका पदाधिकारी फर्किन थालेका छन्।
शुक्रबार केन्द्रीय कमिटीको बैठक डाकिएको थियो। जहाँ उपाध्यक्ष बामदेव गौतम सहभागी भए। माधव नेपाल समूहका केही नेता उपस्थित नभए पनि पार्टीको बैठक चल्यो। एमालेले सबै पदाधिकारीलाई पत्राचार गरी बैठकमा डाकेको थियो।
नेता नेपालले बैठकमा नआउने बताए पनि ओलीले त्यसलाई रोकेनन्। बरु, फोनमा भएको कुराकानी सुनाउँदै भने,‘माधव नेपाल आउन इन्कार गर्नुभयो, मेरो फोन उठाउन पनि मन थिएन भन्नुभयो।’
उपाध्यक्ष गौतमलाई स्वागत गर्दै उनले अब यताउता नगर्नका लागि सुझाव दिएका थिए। योसँगै सोमबार साँझसम्म देउवाका नाममा गरिएको हस्ताक्षर फिर्ता नलिए एकता सम्भव नहुने ओलीको चेतावनी थियो। एमाले पहिलेकै अवस्थामा फर्किएको भन्दै गौतम बैठकमा सहभागी भए। उनले माधव नेपालको आलोचना गरे भने उनलाई सकभर सहमतिमा ल्याउनका लागि ओलीलाई सुझाव दिए।
गौतमले पार्टीबाट राजीनामा नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु माधव नेपाल समूहको गम्भीर गल्ती भएको बताएका थिए। उनले एकता जोगाउनका लागि मुख्य नेतालाई अपमान गर्न नहुने बताउँदै भने,‘विपक्षीलाई सघाउने हो भने पनि पार्टी अनुशासन तोडेर होइन, राजीनामा गरेर गर्नुपर्छ। म भए त्यहि गर्नेथिएँ।’ पार्टी एकता एमालेको पक्षमा र खासगरी अध्यक्ष ओलीको पक्षमा हुने बताउँदै उनले अन्यथा सबै समाप्त हुने दिन नजिक आएको बताए।
गौतमले एमालेको एकता टरिनसकेका कारण आफूलाई जिम्मेवारी दिन ओलीलाई भनेका छन्। उनी यसबीचमा नेकपा विभाजन हुँदा नेकपा एकता अभियान र एमाले विभाजित हुँदा एमाले एकता अभियानमा सक्रिय रहेका थिए। त्यो प्रसङगलाई पनि उनले सम्बोधनका क्रममा सुनाएका थिए।
ओली क्याम्पमा बामदेव फर्किनुको खास कारण भने नवौं महाधिवेशनको अवस्थामा एमाले पुग्नु हो। त्यसबेला गौतमले ओलीलाई सघाएका थिए र अध्यक्षमा निर्वाचित गराएका थिए। नेपाल समूह भने ओलीको विरोधी खेमामा थियो। ‘पार्टी पहिलेको अवस्थामा आएपछि त्यहि समीकरणमा उपाध्यक्ष गौतम उभिनुभएको हो, अन्य विषयमा भने उहाँका फरक विचार हुनसक्छन्’, स्रोतले भन्यो।