काठमाडौं– रुपा सुनार प्रकरणकी सरस्वती प्रधानलाई गाडीमा चढाएर लगेको भन्दै एमालेभित्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पदबाट राजीनामा माग गरिएको छ।
बालुवाटारमा भएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकका क्रममा गण्डकी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री जगत विश्वकर्माले उनको राजीनामा माग गरेका हुन्। जातिय भेदभावको मुद्दाका एक दोषीलाई त्यसरी झन्डा फहराउँदै लिफ्ट दिनु गलत काम भएको भन्दै उनले पदबाट राजीनामा दिन श्रेष्ठसँग माग गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेदको विषयमा गम्भिर हुनका लागि सचेत गराएका थिए। यसअघि छविलाल विश्वकर्माले पनि श्रेष्ठको काम सही नभएको बताएका थिए। यसले पार्टीभित्र जायित विभेदलाई बढावा दिने मनसाय जिम्मेवार व्यक्तिमा नै रहेको भन्ने सन्देश जाने बताइएको थियो।
अहिले काठमाडौंमा डेरा नदिएको प्रकरणमा सुनारको विषयलाई तल्ला तहमा पनि विभेदको प्रथा कायमै रहेको भनी विविध प्रकारले जानकारी गराउने काम भइरहेको छ। यस विषयमा पक्ष र विपक्षको विवाद कायम रहेको पनि बताइन्छ।
कतिपयले मन्त्री श्रेष्ठले काठमाडौंमा आफ्नो भोट बैंकको राजनीति जोगाउनका लागि सरस्वतीलाई लिफ्ट दिएको भन्ने बताउन थालेका छन्। मन्त्री श्रेष्ठको रहोबरमा प्रहरीले उनलाई छाडेको थियो।
‘जातिय विभेदको विषयमा दुवै पक्षले राजनीति गरेको देखिन्छ। यो समस्या अहम् हो तर यसमा बाह्य र आन्तरिक पार्टी राजनीति पनि गरियो’, एक नेता भन्छन्,‘त्यसो गर्नु उचित त होइन नै समाधानको बाटो पनि हुँदैन।’
मन्त्री श्रेष्ठ प्रधानमन्त्री ओलीका अति निकट मानिन्छन्। तर, कतिपय प्रकरणमा उनी पनि बेलामौका विवादमा तानिने गरेका छन्। उनका भाषणका कारण पनि उनी विवादमा तानिँदै आएका थिए।